धादिङमा एमालेका पुराना नेताहरूलाई सम्मान

धादिङमा एमालेका पुराना नेताहरूलाई सम्मान


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको सङ्घर्षबाट गणतन्त्र प्राप्त भएकाले यसविरोधी गतिविधि गर्नेप्रति एमाले डटेर प्रतिकार गर्ने बताएका छन् ।

एमाले धादिङको नवौंँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र विरोधी गतिविधि गर्नेप्रति आमनागरिक, राजनीतिक दल सबै एकजुट भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिए । उनले एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउन विभिन्न कोणबाट भइरहेको हमलाको पार्टीले प्रतिकार गर्ने धारणा राखे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘हाम्रो पार्टीको राष्ट्रवादी अडानलाई कमजोर बनाउन हामीमाथि हमला भइरहेको छ । एमाले जन्मसिद्ध र वंश परम्परामा आधारित शासनसत्ताको विपक्षमा छ । आमनिर्वाचित शासनसत्ता चलाउने, र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको छ । यसमा कोहीसँग सम्झौता हुँदैन ।’

संविधानको सर्वोच्चता र कानुनी शासनको पक्ष, विकास र समृद्धि, सामाजिक सद्भाव कायम गर्नु सबैको दायित्व भएकाले समन्वय र सहकार्यको आवश्कता रहेको उनको भनाइ छ । नेता पोखरेलले मुलुक समृद्ध बनाउन एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने भन्दै यसमा पार्टीका नेता तथा कार्यकर्ताको योगदान र सहयोगको खाँचो औँल्याए ।

एमाले जिल्ला कमिटीका अध्यक्ष भूमीप्रसाद त्रिपाठीले पार्टीको सङ्गठन, सदस्यता तथा जिल्लामा अन्य पार्टीको उपस्थितिको विश्लेषणसहितको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेस गरे ।

प्रथम प्रतिनिधि परिषद् उद्घाटन समारोहमा नेकपा एमाले केन्द्रीय सदस्य खेमप्रसाद लोहनी, जानुका सिङ्खडा, केन्द्रीय सल्लाहकार परिषद् सदस्य जगन्नाथ नेपाल, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाललगायत नेताले पार्टीको आगामी योजना र निर्वाचन रणनीति, जनसम्पर्क अभियान तथा विचारधारात्मक स्पष्टताका विषयमा आ-आफ्ना धारणा राखेका थिए ।

प्रतिनिधि परिषद्ले दिएको मार्गदर्शन अनुसार आगामी दिनमा एमालेले साङ्गठनिक सुदृढीकरण र वैचारिक स्पष्टतालाई सशक्त बनाउने नेकपा एमाले धादिङकी सचिव राधिका सापकोटाले बताइन् । प्रतिनिधि परिषदमा एमालेका पुराना नेताहरूलाई सम्मान गरिएको थियो ।

photo: rss