पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापासहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
कोषका सदस्यसचिव डा. थापा, तत्कालीन सदस्यसचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडासमेत १४ जना र दुई कम्पनीउपर पशुपति क्षेत्र विकास कोष/सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना तथा हानीनोक्सानी गरी/गराई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र विशेष अदालत काठमाडौंमा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।
प्रवक्ता पौडेलका अनुसार पशुपतिमा विद्युतीय शवदाहगृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानिनोक्सानी पुऱ्याएर भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध रु १० करोड ३३ लाख ९१ हजार ३० बिगो मागदाबीसहित आइतबार (८ असार) आरोपपत्र दायर गरिएको हो ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा उल्लिखित कसुरमा संलग्न प्रतिवादीहरू उपर सजायको मागवादी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया