अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानद्वारा कतारमा मिसाइल प्रहार
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै राष्ट्रपति ट्रम्पले युद्धविराम केही घण्टाभित्र लागू हुने बताएका हुन् ।
प्रारम्भमा इरानले युद्धविराम सुरु गर्नेछ भने त्यसको १२ घण्टापछि इजरायल पनि त्यसमा सहभागी हुने जनाइएको छ । त्यसपछि २४ घण्टाको समयावधिमा दुवै पक्षले युद्धको औपचारिक अन्त्यको घोषणा गर्नेछन्।
राष्ट्रपति ट्रम्पले दुबै राष्ट्रले धैर्य, साहस र समझदारी देखाएकोमा बधाई दिँदै, यस सहमतिले दीर्घकालीन विनाशबाट सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई बचाउन सक्ने विश्वास व्यक्त गरेका छन् ।
उनले अन्त्यमा सबैलाई एकताको सन्देश दिँदै भनेका छन्, ‘ईश्वरले इजरायललाई आशीर्वाद दिनुहोस्, ईश्वरले इरानलाई आशीर्वाद दिनुहोस्, ईश्वरले मध्यपूर्व, संयुक्त राज्य अमेरिका तथा समग्र विश्वलाई पनि आशीर्वाद दिनुहोस् ।’
हालसम्म यसबारे इजरायल र इरानबाट भने कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । अमेरिकी राष्ट्रपतिको कार्यालय र रक्षा मन्त्रालयबाट पनि यसबारेमा औपचारिक धारणा सार्वजनिक गरिएको छैन।
ज्ञातव्य छ, यसअघि इरानबाट कतारको राजधानी दोहानजिकै रहेको एक महत्त्वपूर्ण अमेरिकी सैन्य अड्डातर्फ मिसाइल प्रहार गरिएको थियो । तर, कतारको सुरक्षा संयन्त्रले ती मिसाइलहरू समयमै खसाल्न सफल भएको जनाइएको छ ।

कतार सरकारका प्रवक्ता तथा प्रधानमन्त्रीका सल्लाहकार माजिद बिन मोहम्मद अल-अन्सारीले विज्ञप्ति जारी गर्दै यो आक्रमणलाई कतारको सार्वभौमिकता, हवाई क्षेत्र तथा अन्तर्राष्ट्रिय कानुनहरूको गम्भीर उल्लंघन भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले यस प्रकारका कार्यहरूले क्षेत्रीय स्थायित्वमा नकारात्मक असर पार्न सक्ने भन्दै तुरुन्तै शान्तिपूर्ण संवादमा फर्कन आग्रह गरेका छन् ।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजीसी)ले यस मिसाइल अभियानको जिम्मेवारी लिँदै उक्त कार्यलाई ‘अभिनन्दनको विजय’ नाम दिएको छ। उनीहरूले इराक र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य गरिएको बताएका छन्। आइआरजीसीले अल उदीद अड्डालाई ‘पश्चिम एसियामा अमेरिकी वायुसेनाको मुख्य केन्द्र’को रूपमा उल्लेख गरेको छ।
इरानले आफ्नो राष्ट्रिय स्वाधीनता, भूभागीय अखण्डता र सुरक्षामा भएको कुनै पनि हस्तक्षेपको जवाफ दिन आफू बाध्य हुने स्पष्ट पार्दै आएको छ। यो प्रहार अमेरिकी पक्षबाट शनिबार इरानका तीनवटा परमाणु केन्द्रमा गरिएका हवाई आक्रमणको प्रतिशोधस्वरूप गरिएको बताइएको छ।
यसबीच, खाडी क्षेत्रका विभिन्न मुलुकहरूले सुरक्षाको दृष्टिले हवाई मार्ग अस्थायी रूपमा बन्द गरेका छन् । कतार र संयुक्त अरब इमिरेट्सले आक्रमण हुनुअघि नै आकाश मार्ग बन्द गरिसकेका थिए भने बहराइन र कुवेतले पनि सोमबार आंशिक हवाई मार्ग बन्दको घोषणा गरेका छन् ।
कतारको अल उदीद सैन्य अड्डा मध्यपूर्व क्षेत्रका लागि अमेरिकी तथा साझेदार राष्ट्रहरूको एक प्रमुख सैन्य आधार हो, जहाँ हजारौं सैनिकहरू तैनाथ छन्।
प्रतिक्रिया