पुराना दलहरूको ‘चिहान’माथि जीवित नेपालको संकल्प !

पुराना दलहरूको ‘चिहान’माथि जीवित नेपालको संकल्प !


देश आज संकटको घेराभित्र छ । विचार मरिरहेको छ, विवेक हराइरहेको छ र राजनीति सत्ताको सौदाबाजीमा सीमित हुँदै गएको छ । जनताले सपना देखेर भोट दिए, विश्वास गरेर प्रतिनिधि बनाए, तर ती प्रतिनिधिहरू सत्ताको स्वादमा लिप्त हुँदै जनताको आवाजमाथि चुप्पी साधिरहेका छन्।

मुलुक आर्थिक संकटमा छ, बेरोजगारी चुलिएको छ, भ्रष्टाचार संस्थागत बनेको छ, विदेशी हस्तक्षेप गहिरिँदै गएको छ, सीमा मिचिएको छ, र राष्ट्रिय स्वाभिमान निरन्तर पतनको दिशातर्फ धकेलिँदै छ । तर, यस्ता गम्भीर राष्ट्रिय मुद्दाहरूको बेला देशका मुख्य राजनीतिक शक्तिहरू सत्तामा होऊन् वा विपक्षमा सबैजना मौन छन् । बोल्ने बेला बोल्दैनन्, प्रतिवाद गर्ने बेला आँखा चिम्लिन्छन् । संसद जनताको मञ्च होइन, सत्ता समीकरणको रंगमञ्च बनेको छ। सडकमा जनता चिच्याइरहेका छन्, तर सिंहदरबारमा शून्यता छ।

जब मुलुकलाई नेतृत्व चाहिएको थियो, नेताहरू कानमा तेल हालेर बसे । जब जनता न्यायको आश गर्दै आँखा लगाइरहेका थिए, ती प्रतिनिधिहरू स्वार्थको भित्तामा टाँसिएका थिए। तब प्रश्न उठ्छ- के ती प्रतिनिधि हुन्, कि केवल दलाल ? के उनीहरू बोल्न सक्दैनन्, कि बोल्न चाहँदैनन् ?

हामी आज यस्ता पात्रहरूको सामना गरिरहेका छौँ, जो राजनीतिक रूपमा क्रियाशील देखिन्छन् तर नैतिक रूपमा पूर्णरूपले मृत छन् । जसले न सत्यको पक्ष लिन्छन्, न गलतको प्रतिवाद गर्छन् । उनीहरूको जिब्रो शासकको स्वागतमा खुलेको छ, तर जनताको चित्कार सामु बन्द छ । यस्ता पात्रहरू हुन् ‘जीवित शवहरू’ – पार्टीको झण्डा बोकेर हिँड्ने तर विचार, साहस र सच्चाइको बोझ लिन नसक्ने।

एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, रास्वपा जसै सत्तामा पुग्छन्, त्यसै मौन बन्छन् । कसैको दृष्टि अमेरिकी परियोजनाको दलालीमा केन्द्रित छ, कसैको चासो खानी र ठेक्काको सेटिङमा छ, कसैको आत्मा विदेशी एजेन्डामा गुमेको छ । यी दलहरूको व्यवहार हेर्दा लाग्छ- देश छैन, केवल लोभ र पदको बजार बाँकी छ। यस्तो अवस्थामामा श्रद्धाञ्जली दिनुपर्छ तिनलाई होइन, जो मरेर गए, तर तिनलाई जो जीवित भएर पनि देशको पक्षमा बोल्न सक्दैनन्।

‘देश र जनताका लागि केही बोल्न नसक्ने ती जीवित शवहरूलाई हार्दिक श्रद्धाञ्जली !’

तथापि, जब सिङ्गो देश निराशामा डुबिरहेको हुन्छ, साँचो आशा झिल्किन्छ । अहिलेको समय त्यस्तै हो अन्धकार बाक्लिँदै गएको छ, तर आशाको एउटा उज्यालो झुल्किएको छ, त्यो हो- नागरिक शक्ति नेपाल ।

नागरिक शक्ति नेपाल कुनै परम्परागत दल होइन, यो विचारको आन्दोलन हो । यो कुर्सीको खेल होइन, चेतनाको क्रान्ति हो । नागरिक शक्ति नेपाल देशको प्रत्येक पीडित नागरिकको आवाज बन्न खोजिरहेको छ । जब सबै मौन छन्, नागरिक शक्ति नेपाल बोलिरहेको छ । जब संसद सुतेको छ, नागरिक शक्ति नेपाल जागिरहेको छ । जब दलहरू दलालीमा रमाइरहेका छन्, नागरिक शक्ति नेपाल जनताको काँधमा काँध मिलाइरहेको छ।

देशको यो संक्रमणमा नागरिक शक्ति नेपाल विकल्प मात्र होइन, अब एकमात्र विश्वसनीय मार्ग बनेको छ। यो आन्दोलन हो विचारमा आधारित, विवेकमा अडिएको, र मूल्यमा नअड्ने कुनै समझौता नगर्ने । नागरिक शक्ति नेपाल अब नयाँ पुस्ताको भरोसा हो, जागृत नागरिक चेतनाको प्रतिबिम्ब हो, र शान्त क्रान्तिको प्रस्थान बिन्दु हो ।

देशलाई अहिले अनुहार होइन, विचार चाहिएको छ । नारावादी होइन, परिणाममुखी सोच चाहिएको छ। परम्परागत शक्तिहरूबाट आशा गुमिसकेको अवस्थामा, अब नागरिक शक्ति नेपालले नै देशको पीडामा मलम लगाउने, जनताको पक्षमा उभिने र परिवर्तनको यात्रा तय गर्ने साहसिलो, सशक्त बाटो देखाइरहेको छ । त्यसैले फेरि एकचोटि प्रष्ट भन्नैपर्छ- देश र जनताका लागि केही बोल्न नसक्ने ती राजनीतिक शवहरूलाई हार्दिक श्रद्धाञ्जली !

जय मातृभूमि !