धादिङका १३ स्थानीय तहले ल्याए १० अर्ब बढीको बजेट

धादिङका १३ स्थानीय तहले ल्याए १० अर्ब बढीको बजेट


  • विकाश रौनियार, गजुरी (धादिङ)

धादिङका १३ वटा स्थानीय तहहरूले आगामी आर्थिक वर्षका लागि १० अर्ब रुपैयाँ बढीको बजेट प्रस्तुत गरेका छन् । बजेटमा धेरैजसो स्थानीय तहले कृषि र स्वास्थ्य क्षेत्रमा बढी बजेट केन्द्रित गरेका छन् ।

नीलकण्ठ नगरको १ अर्ब २२ करोड

नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२∕०८३ को लागि १ अर्ब २२ करोड ९३ लाख ५ हजार रुपैयाँको बजेट ल्याएको छ ।

बजेट विवरणअनुसार चालु खर्चतर्फ रु ८७ करोड २७ लाख ५३ हजार र पुँजीगत खर्चतर्फ रु ३५ करोड ६५ लाख ५२ हजार विनियोजन गरिएको छ।

बजेटसँगै नगरपालिकाले दीर्घकालीन रणनीतिक योजना, सार्वजनिक–निजी साझेदारी, डिजिटल सेवा विस्तार र सुशासन प्रवर्द्धनका कार्यक्रमहरू पनि अघिसारेको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बताए ।

धुनीवेशी नगरको ९५ करोड

सङ्घीय राजधानीसँग जोडिएको पालिका धुनीबेशी नगरपालिकाले ९५ करोड ५६ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । मेयर बालकृष्ण आचार्यका अनुसार बजेटमा कृषि उत्पादन तथा पशुपालन, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जनालाई महत्त्व दिइएको छ ।

बेनीघाट रोराङ ९३ करोड

बेनीघाट रोराङ गाउँपालिकाले ९३ करोड ३० लाख ३१ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेको छ । आगामी आर्थिक वर्षका लागि नेपाल सरकारबाट ५० करोड १० लाख २२ हजार २३० रुपैयाँ र बागमती प्रदेश सरकारबाट ८ करोड २६ लाख ८७ हजार रुपैयाँ प्राप्त भएको जानकारी दिइएको छ ।

त्यस्तै आन्तरिक आयस्रोत ६ करोड ८२ लाख ६० हजार हुने अनुमानसहित कूल ६५ करोड १९ लाख ६९ हजार २३० रुपैयाँको बजेट पेश गरिएको उपाध्यक्ष टापबहादुर श्रेष्ठले बताए ।

थाक्रे गाउँपालिका ९३ करोड

थाँक्रे गाउँपालिकाले ९३ करोड १२ लाख ४५ हजार रुपैयाँको बजेट ल्याएको छ । उपाध्यक्ष यन्त्रबहादुर थापाका अनुसार ०८२∕८३ को बजेटमा कृषि उत्पादन तथा पशुपालन गर्ने किसानलाई ५० प्रतिशत अनुदानको व्यवस्था मिलाएको छ ।

गजुरीको ६७ करोड

गजुरी गाउँपालिकाले ६७ करोड २२ लाख ९२ हजार रुपैयाँको बजेट ल्याएको छ । उपाध्यक्ष शर्मिला बिसुरालका अनुसार आन्तरिक आयतर्फ १२ करोड ४३ लाख ८८ हजार ५ सय १० राजस्व सङ्कलन हुने अनुमान गरिएको छ, जसमध्ये स्थानीय विभाज्य कोष बाट प्राप्त आम्दानी ९ करोड तथा अन्य आन्तरिक आम्दानी ३ करोड ४३ लाख ८८ हजार ५ सय १० सङ्कलन हुने अनुमान गरिएको छ ।

सङ्घीय सरकार प्रदेश सरकारबाट प्राप्त हुने सबै प्रकारका अनुदान तथा सोही बमोजिमको आधारमा सिर्जना हुने दायित्व अनुसार आगामी आ।व।को यस गाउँपालिकाको कुल बजेट रकम ६७ करोड २२ लाख ९२ हजार मध्ये चालु खर्च रु ४३ करोड ३३ लाख ४२ हजार अर्थात् ६४.५ प्रतिशत र पुँजीगत खर्च रु २३ करोड ८९ लाख ५० हजार अर्थात् ३५.५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय सामान्यीकरणतर्फ बाट एक करोड ४७ लाख २६ हजार रुपैयाँ, सशर्त अनुदान स्वरूप दुई करोड दुई लाख ४२ हजार रुपैयाँ र राजश्व बाँडफाँट तथा सवारी साधन कर बापत तीन करोड ६१ लाख ३५ हजार चार सय ९० रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष शर्मिला बिसुरालले बताइन् ।

ज्वालामुखीको ६४ करोड

ज्वालामुखी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२∕८३ का लागि ६४ करोड ८ लाख ९० हजारको बजेट विनियोजन नीति तथा कार्यक्रम १५ औँ अधिवेशनले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक सर्वसम्मतले पारित गरेको छ ।

गाउँपालिकाले कृषि र पर्यटनलाई रोजगारसँग जोडेर नीति कार्यक्रम ल्याएको छ । कृषि क्षेत्रमा विभिन्न रोजगारमुखी कार्यक्रम निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले जानकारी दिए ।

त्यस्तै, सङ्घीय सामान्यीकरण अनुदान १२ करोड ७३ लाख, सशर्त अनुदान २२ करोड ३३ लाख, विशेष अनुदान ८५ लाख, समपूरक अनुदान २ करोड ४५ लाख र राजश्व बाँडफाँड ८ करोड ५४ लाख रहेको छ । यस्तै प्रदेश तर्फ सामान्यीकरण अनुदान १ करोड ३३ लाख ५ हजार, सशर्त अनुदान २ करोड १८ लाख १३ हजार, विशेष अनुदान ६५ लाख, समपूरक अनुदान २ करोड ७० लाख र राजश्व बाँडफाँड ३ करोड ८ लाख ९४ हजार रहेको छ ।

गल्छीको ७३ करोड

गल्छी गाउँपालिकाले ७३ करोड ४५ लाख २६ हजार ५ सय २० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सो पालिकाले शिक्षा ,स्वास्थ्य र कृषिमा आगामी वर्षको कार्यक्रममा विशेष स्थान दिएको छ ।

त्रिपुरासुन्दरीको ६४ करोड

त्रिपुरासुन्दरी गाउँपालिकाले ६४ करोड ९० लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

पालिकाले पूर्वाधार विकासलाई आगामी वर्षको कार्यक्रममा विशेष स्थान दिएको छ । पालिकाले गाउँ गौरवको आयोजनाहरूको लागि भनेर ६ करोड ६५ लाख छुट्टाएको छ । यस्तै दर्जनौँ कार्यक्रममा पालिकाले नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी बजेट छुट्टाएको गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताए ।

नेत्रवती डबजोङको ४६ करोड

धादिङको नेत्रवती डबजोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२∕०८३ का लागि ४६ करोड २७ लाख ३२ हजार २ सय ९१ रुपैयाँको बजेट ल्याएको छ ।

सिद्धलेकको ६० करोड

सिद्धलेक गाउँपालिकाले आर्थिक वर्ष २०८२∕८३ का लागि गाउँपालिकाले नीति तथा कार्यक्रम अन्तर्गत शिक्षा गुणस्तर सुधार, स्थानीय स्रोत साधनको अधिकतम उपयोग, पर्यटन प्रवर्द्धन, विपद् व्यवस्थापन, कृषिको आधुनिकीकरण, युवा उद्यमशीलता र दिगो विकासका लागि ६० करोड ५७ लाख ८४ हजार ९ सय १४ रुपैयाँको बजेट समावेश गरेको छ ।

गङ्गाजमुनाको ६२ करोड

गङ्गाजमुना गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२∕०८३ का लागि ६२ करोड ११ लाख ६६ हजार बजेट पेश गरेको छ ।

सङ्घीय सामान्यीकरण अनुदान ११ करोड ८४ लाख, सशर्त अनुदान २२ करोड ६७ लाख, विशेष अनुदान १ करोड ६५ लाख, समपूरक अनुदान २ करोड २५ लाख र राजश्व बाँडफाँड ८ करोड ७९ लाख रहेको छ ।

यस्तै प्रदेश तर्फ सामान्यीकरण अनुदान १ करोड २३ लाख ८९ हजार, सशर्त अनुदान १ करोड ९५ लाख ८३ हजार, विशेष अनुदान ६५ लाख, समपूरक अनुदान ३ करोड ४२ लाख र राजश्व बाँडफाँड ३ करोड १४ लाख २३ हजार ७९६ रहेको छ ।
समग्रमा सङ्घीय सरकारबाट ४७ करोड २० लाख ७० हजार ५६१ र प्रदेश सरकारबाट १० करोड ४० लाख ९५ हजार ७९६ गरी ५७ करोड ६१ लाख ६६ हजार ३५७ र गाउँपालिकाको आन्तरिक आयबाट १ करोड र मौज्दात सञ्चित कोषमा ३ करोड ५० लाख गरी ६२ करोड ११ लाख ६६ हजार ३५७ बजेट प्रस्तुत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय बहादुर स्याङतानले जानकारी दिए ।

खनियाँबासको ४४ करोड

खनियाँबास गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२∕०८३ का लागि ४६ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको छ । यस गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषिलाई प्रमुख प्राथमिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

रुबीभ्यालीको ४५ करोड

रुबीभ्याली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२∕०८३ का लागि ४५ करोड ४७ लाख ३४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

यस गाउँपालिकाले स्वास्थ्य बिमा, पर्यटन वृद्धि योजना निर्माण, दलित उत्थान कार्यक्रम, कृषि, शिक्षामा एमबिबिएस पड्नेलाई छात्रवृद्धि, भौतिक पूर्वाधार लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।