‘पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेनन्’ : सीइओ जोशी

‘पर्यटन क्षेत्रमा लगानी बढ्यो, पर्यटक बढेनन्’ : सीइओ जोशी


नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा लगानी बढे पनि अपेक्षाकृत रुपमा विदेशी पर्यटकको सङ्ख्या बढ्न नसकेको बताएका छन् ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ र नेपाल पर्यटन बोर्डले आज (११ असार) काठमाडौंमा आयोजना गरेको पर्यटक सवारीचालक तथा सहचालक अभिमूखीकरण प्रशिक्षण कार्यक्रममा उनले आवश्यक पूर्वाधार निर्माण नहुँदा सोचेभन्दा कम पर्यटक आएको बताए ।

‘अहिले पूर्वाधारको अभावमा हामीले लक्ष्यअनुसार पर्यटक ल्याउन सकेका छैनौँ, यद्यपि मुलुकभर सडकलगायतका पूर्वाधार निर्माण तथा विस्तार भइरहेको सन्दर्भमा आगामी दुईपछि पर्यटक बढाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ, यसका लागि सम्बन्धित पक्ष जिम्मेवार भएर पूर्वाधार निर्माणमा सक्रिय हुनुपर्छ- भन्दै उनले पर्यटकलाई लक्षित गरेर सेवा दिने गुणस्तरीय हुनुपर्ने सुझावसमेत दिए ।

त्यस अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक राजीव विष्टले पर्यटक सवारी चालकहरु आफै जिम्मेवार हुनुपर्नेमा जोड दिए । ‘सवारी चालक र सहचालक जिम्मेवार भए दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ, चालकहरूले ट्राफिकका लागि नभई आफ्ना लागि नियम पालना गर्नुपर्छ’, उनको भनाइ छ ।

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष बेदराज बास्तोलाले चालक आफैं सक्षम भए आफू र पर्यटकलाई सुरक्षित रुपमा गन्तव्यमा पुऱ्याउन सक्ने धारणा व्यक्त गरे । ‘यस प्रशिक्षणले चालक र सहचालकलाई सक्रिय, दक्ष र सुरक्षाका उपाय अपनाउनेबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान दिनेछ’, उनले भने- ‘चालक र सहचालकले यात्रामा पर्यटकसँग गर्ने व्यवहार सिक्नुहुनेछ ।’

प्रशिक्षण दुई दिनसम्म सञ्चालन हुनेछ । कार्यक्रममा पर्यटक सवारीका चालक तथा सहचालक गरी ९२ जनाको सहभागिता छ ।