पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश


पतञ्जलि जग्गा हिनामिना प्रकरणमा मुद्दा झेलिरहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई विशेष अदालतले तत्कालका लागि राहत पुग्ने फैसला सुनाएको छ । पूर्वप्रधानमन्त्री नेपाल लगायत विभिन्न ब्यक्तिविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको थुनछेक बहस सकिएपछि बुधबार (११ असार) अबेर गरी अदालतले फैसला सुनाएको हो, जसअनुसार माधव नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ ।

पतञ्जलि योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपपत्र विशेष अदालतमा दर्ता भएको थियो । यस मामलामा बयान दिन माधव नेपाल बुधबार विशेष अदालतमा उपस्थित भएका थिए, अपराह्नदेखि उनीसँग बयान लिइएको थियो ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले माधव नेपाललाई ३५ लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।

पतञ्जलि योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।