अनेसास विश्व च्याप्टर सम्मेलन : ११बुँदे घोषणापत्र जारी गर्दै भयो भब्य समापन

अनेसास विश्व च्याप्टर सम्मेलन : ११बुँदे घोषणापत्र जारी गर्दै भयो भब्य समापन


  • विशेष प्रतिनिधि, बेल्जियम

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को छैटौं विश्व च्याप्टर सम्मेलन ११बुँदे घोषणा पत्रसहित समापन भएको छ । अनुष्ठानको तेश्रो दिन बेल्जियमको आन्त्वेर्पेन शहरमा समारोह सम्पन्न भएको हो । २५ जुन बुधबार अनेसासका केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्ले र संयोजक सौरभ कारंजितले अन्तराष्ट्रिय च्याप्टर सम्मेलनको अन्त्य भएको घोषणा गरेका हुन् ।

समापन समारोहको पहिलो चरणमा घोषणापत्र तयार गर्न डा. प्राध्यापक कविता लामा, प्रतिमा केसी र मीरा कोइरालालाई जिम्मेवारी दिइएको थियो। समापन समारोहको दोस्रो चरणमा अनेसास बोर्ड अफ ट्रष्टी (बिओटी)का सभापति पदम विश्वकर्माले संगठन, गतिविधि तथा संस्थागत विकाशको बारेमा पावर पोइन्टबाट डाटा प्रस्तुत गरेका थिए । उनले अनेसासका आजीवन सदस्य तथा च्याप्टर नेतृत्वहरुलाई संगठनको विधान, अनुशासन र प्रभावकारी नेतृत्वकलाको बारेमा प्रशिक्षण दिए।

त्यस्तै, अनेसासका निवर्तमान अध्यक्ष गोबर्द्धन पूजाले सुझापपत्र पेश गर्दै अनेसास र बिओटीबीचको अन्तरसम्बन्धको बारेमा बताए । उनका अनुसार अनेसास केन्द्र संगठनको सर्वोच्च निकाय रहेकोमा बोर्ड अफ ट्रष्टीले यसका काम कारबाहीमा हस्तक्षेप गर्न नहुने भन्दै विधानले नै संगठनका दुवै निकायलाई कामको सीमा प्रष्ट तोकेको र आवश्यक परे विधान संशोधन गरि समयानुकुल बनाउनुपर्ने औंल्याए ।

समापन समारोहको तेस्रो चरणमा छनौट समितिका सदस्य तथा निवर्तमान अध्यक्ष गोबर्द्धन पूजाद्वारा अमेरिकाको बोस्टन च्याप्टर सर्वोकृष्ट घोषणा गरिएको छ । त्यस्तै, दोस्रो र तेस्रोमा क्रमशः जापान र पोर्चुगल शाखा छनौट भएका छन् । उत्कृष्ट च्याप्टरका लागि अमेरिकन ५०० डलर अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माले प्रायोजन गरेका हुन् । सो रकम सम्बन्धित च्याप्टरलाई हस्तान्तरण समेत गरियो ।

अनेसासका वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदीले सम्मेलन सिक्किमबाट आएका नेपाली भाषा साहित्यका विज्ञहरुसँग भएको सारगर्वित बहसले अत्यन्त प्राज्ञिक भयो भन्दै विमोचन भएका किताबहरुको विशेष चर्चाको लागि अझै समय नपुगेको जनाए । उनले भने- अब सबैले पढेर विमोचित पुस्तकहरुको चर्चा गर्नुहुनेछ । अनेसासले पनि विमोचित पुस्ताकको जुमबाटै भएपनि ‘पुस्तक चर्चा विशेष’ कार्यक्रम राख्नेछ ।

त्यस्तै, अनेसास पुर्तुगलका संस्थापक अध्यक्ष केजिन राईले आयोजकले सम्झेर आफ्नो सम्मान गरेकोमा अनेसास बेल्जियमलाई धन्यवाद दिंदै आफू जहिले पनि अनेसासको साथमा रहेको बताए । समापन समारोहमा बोल्दै उनले यदि हाम्रा स्रस्टाहरुलाई बेल्जियम रहँदा बस्दा केही समस्या आइपरे आफूलाई सम्झन आग्रह गरे।

अनेसास पोर्चुगलका अध्यक्ष एनबी अन्जानले अनेसासले आफ्ना संस्थापकलाई सम्मान गरेकोमा आफू गौरवान्वित भएको जनाए भने अनुष्ठानको समापनमा जर्मनी च्याप्टरकी अध्यक्ष सुजाता रावतले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कविता वाचन गरेकी थिइन् ।

समापन समारोहका पदाधिकारीहरुले विधान संशोधन समितिमा प्राज्ञ सुमन तिम्सिना, डा. शशी थापा र तीर्थ अर्याललाई जिम्मेवारी दिएको बताएपनि सम्मेलनमा अनेसासका पुर्व अध्यक्षहरुमध्येबाट विधान संशोधनमा राखिनुपर्ने चर्को आवाज उठेको थियो । विधान संसोधन केवल देखाउन वा संशोधन छल्नको लागि नबनोस् भन्दै केन्द्रिय कार्य समितिको दुई तिहाइले विधान संशोधन गर्न पाउने प्रवाधान राखिनुपर्ने धेरै च्याप्टर प्रतिनिधिहरुको धारणा रहेको देखियो।

समापन समारोहको चौथो चरणमा अनेसास बाल समितिका संयोजक सुरेन उप्रेतीले बाल समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने साँस्कृतिक समितिका संयोजक महेश्वर पन्तले सांस्कृतिक प्रतिवेदन प्रस्तुत गरे ।

त्यस्तै, महिला समितिको महत्वबारे मीरा कोइरालाले आफ्नो धारणा राखेकी थिइन् । आर्थिक पारदर्शिताको बारेमा मित्रबन्धु पोखरेलले पावर पोइन्ट प्रेजेण्टेसन प्रस्तुत गर्दै संगठनको आधिकारिक आर्थिक रणनीतिबारे प्रकाश पारेका थिए ।

समापन समारोहको पाचौं चरणमा चार दर्जनभन्दा बढी साहित्यकारहरुले आ-आफ्नो कविता, गजल, हाइकु र मुक्तक वाचन गरेका थिए भने उक्त कार्यक्रम उपाध्यक्ष सुदीपभद्र खनाल र बिओटी सचिव नारायण अधिकारीले संयुक्त रुपमा संचालन गरेका थिए ।

सम्मेलनको समापन समारोहमा सहभागी बेलायतबाट प्रकाशित अनलाइन पत्रिका एभरेष्ट टाइम्स युकेका सम्पादक चिम्खोले काइँला र अनेसास बेलायत च्याप्टरका अध्यक्ष राज श्रेष्ठले अनेसासका केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्लेलाई मायाको चिनो प्रदान गर्दै भने, ‘यो सबै बेलायतवासी साहित्यिक मनहरुको अनेसासप्रतिको श्रद्धा हो ।’

समापन समारोहको साँझपख गजलसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो भने अनेसासको सम्मेलनमा सहभागी साहित्यकार, विभिन्न कार्यक्षेत्रमा जिम्मेवारी बहन गरेका व्यक्ति तथा संघ संगठन, प्रायोजकलगायत आयोजक समुहलाई अध्यक्ष सर्वज्ञ वाग्ले, बिओटीका अध्यक्ष पदम विश्वकर्मा र निवर्तमान अध्यक्ष गोवर्द्धन पूजाले दोसल्ला, मायाको चिनो, प्रमाणपत्र र मेडलले सम्मान गरेका थिए । कार्यक्रम वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी, उपाध्यक्ष डिल्ली अम्माई र वेल्जियम च्याप्टरका महासचिव गोपाल दाहालले क्रमशः संचालन गरेका थिए ।

अन्त्यमा, अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेले संसार भरिका च्याप्टरहरु सबै आफ्नो परिवार जस्तै भएको बताउँदै नेपाली पहिचानको अभियानलाई माथि उठाउन सबैले आफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताए । उनले सबै अनेसासका प्रतिनिधि, आजीवन सदस्य र नेपाली भाषा संस्कृति र साहित्यलाई माया गर्नेहरुलाई अनेसासमा आउन आग्रह गर्दै सम्मेलनबाट फर्केपछि संगठनको काममा लाग्न अनुरोध गरे।

सम्मेलनका संयोजक सौरव काररंजितले विश्व सम्मेलनमा सहयोग गर्ने सहयोगी सबैलाई धन्यबाद दिंदै उहाँहरुलाई बेल्जियम च्याप्टरले आगामी सभामा महामहिमको हातबाट सम्मानित गर्ने जनाए।

कार्यक्रमको अन्त्यमा अनेसासका केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्ले र वेल्जियम च्याप्टरका अध्यक्ष सौरव कारंजितले छैटौं सम्मेलन सफलतापुर्वक सम्पन्न गराइदिनुहुने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिएका छन् । उनले बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्साल, अनेसासका केन्द्रिय सल्लाहकार जीवा लामीछाने, एनआरएनका केन्द्रिय अभियन्ताहरु हेमराज शर्मा, लोक दाहाल, गंगाधर गौतम, फणिन्द्र पन्त, चित्र सुवेदी, गोविन्द भट्ट, चिरन खवास, काशी दनै, दिपक न्यौपाने, यामु निरौला, मदन दवाडीलगायत तीन दिनको सम्मेलनमा उपस्थित सबैलाई विश्व साहित्यिक सम्मेलनको उद्घाटन सभामा आएर शुभकामना दिंदै हौसला बढाइदिएकोमा आभार प्रकट गरे । सम्मेलनमा सहभागी नभएर पनि आर्थिक सहयोग गर्ने सिनियर समाजसेवी ब्यावशायी राजेन्द्र कुमार शर्मालाई उनले विशेष धन्यवाद दिए ।