थाइल्याण्डका प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ प्रदर्शनकारी सडकमा

थाइल्याण्डका प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ प्रदर्शनकारी सडकमा


थाइल्याण्डको राजधानी बैङ्ककमा शनिबार (जुन २८) हजारौंको सङ्ख्यामा सरकारविरोधी प्रदर्शनकारीहरुले प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजिनामाको माग गर्दै प्रदर्शन गरेका छन् ।

कम्बोडियाका एक अग्रज नेताले दुई देशबीचको सीमा विवादलाई शान्त पार्ने उद्देश्यसहित भएको एउटा फोन कल सार्वजनिक भएपछि प्रधानमन्त्री विवादमा परेकी थिइन् । टेलिफोनवार्तामा प्रधानमन्त्री पेटोङटार्नले उनलाई ‘अङ्कल’ भनेको र सीमामा रहेका थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’को रुपमा चित्रित गरेको विषयले प्रधानमन्त्रीविरूद्ध आक्रोश छाएको छ ।

लामो समय सत्तामा रहेको एउटा वंशको प्रतिनिधित्व गर्दै ३८ वर्षीया प्रधानमन्त्रीले कम्बोडियासँग अनावश्यक झुकेको र थाइल्याण्डको सेनालाई कमजोर बनाउने अभिव्यक्ति दिएको आरोप लगाउँदै प्याटोङटार्नको गठबन्धनमा सहभागी एउटा प्रमुख दलले केही दिन पहिले सरकारसँगको सहकार्य त्यागेको घोषणा गरेको थियो ।

शनिबार करिब १० हजार प्रदर्शनकारीले राजधानीको विजय स्मारकमा ‘दुष्ट प्रधानमन्त्री, सत्ता छोड’ लेखिएको थाइल्याण्डको झण्डा र प्लेकार्ड फहराउँदै सडक जाम गरेका थिए ।

प्रदर्शनमा सहभागी एक नेताले मञ्चबाट प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने, ‘प्रधानमन्त्रीज्यू, तपाईंले देशद्रोह गर्नुभयो !’

प्रदर्शनमा प्रायः वृद्ध नागरिकहरू थिए र ‘पहेंलो शर्ट’ आन्दोलनका अनुभवी कार्यकर्ताहरूले नेतृत्व गरेका थिए । उक्त समूहले सन् २००० को दशकमा पेटोङ्टार्नका पिता थाक्सिन सिनावात्रालाई हटाउन मद्दत गरेको थियो ।

थाक्सिनका पूर्व सहयोगी तर अहिले उनका कठोर आलोचकहरूमध्ये एक नेता आन्दोलनको एक प्रमुख आयोजक रहेका थिए ।

थाइल्याण्डमा राजतन्त्र र सेनाको रक्षा गर्ने ‘पहेँलो शर्ट’ र थाक्सिन–समर्थित ‘रेड शर्ट’ बीच दशकौँदेखि सङ्घर्ष रहँदै आएको छ ।