‘मौसम पूर्वानुमानपछिको पूर्वसूचनालाई प्रभावकारी बनाइने’

‘मौसम पूर्वानुमानपछिको पूर्वसूचनालाई प्रभावकारी बनाइने’


राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्वसूचनालाई प्रभावकारी बनाउनेलगायतका आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आइतबार (१५ असार) शहरी विकास मन्त्रालयमा बसेको परिषद्को बैठकले केही दिनयता देशका धेरै स्थानमा भइरहेको वर्षापछिको सम्भावित जोखिमलाई ध्यान दिँदै उक्त निर्णय गरेको हो ।

परिषद् बैठकले जोखिम भएको ठाउँमा रातको समयमा सवारीसाधन नचलाउने, भारी वर्षा भएको समय र क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई सूचना प्रवाह गर्ने, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रसारण गर्ने व्यवस्था मिलाउने र विपद् प्रभावित क्षेत्रमा ‘रिपोर्टिङ’को तत्काल व्यवस्था मिलाई विपद् प्रभावितलाई ‘रेस्क्यु’ गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले वर्षाको समयमा नागरिकको जीवनरक्षाका लागि आवश्यक पूर्वतयारीमा कुनै कमी नगर्न आग्रह गर्दै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउनुपर्ने धारणा राखेका छन् भने मौसम पूर्वानुमानपछिको पूर्वसूचना प्रभावकारी बनाउन सके विपद्बाट क्षति हुनबाट रोक्न सकिने भन्दै पूर्वसूचना प्रभावकारी बनाउने र त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंहले वर्षाको मौसमका कारण हुनसक्ने सम्भावित जोखिमको अवस्थालाई ध्यान दिँदै भइरहेका तयारीबारे जानकारी लिए । सो क्रममा गृहमन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सडक विभागका तर्फबाट भइरहेका पूर्वतयारीका बारेमा जानकारी गराइएको थियो । उनले सरोकारवाला सबै निकायलाई मौसम पूर्वानुमानलाई ध्यान दिँदै जोखिम रहेका ठाउँमा पूर्वसूचना प्रभावकारी बनाउने र जोखिम आइहाले त्यसको सामना गर्नसक्ने गरी तयारी अवस्थामा बस्न आग्रह गरेका छन् ।