यही असार १३ गते शुक्रबार भएको एक घटनाले नेपाल प्रहरीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ । त्यसदिन बिहान १०ः४५ बजे मनोज भेटवाल नामक अभियुक्तलाई अनामनगरस्थित सिंहदरबार प्रहरी वृत्तबाट खटिएको टोलिले पक्राउ पूर्जीका आधारमा गिरफ्तार गरेको थियो । निर्माणाधीन काठमाडौं टावर देखाउँदै विभिन्न सात हजार भन्दा बढी मानिससँग नगद उठाएर जीवन गुजारा गरिरहेका भेटवाललाई ब्यवशायी राजकुमार बरालको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो । आफ्नो तर्फबाट भएको करिब दस करोड रूपैयाँ फिर्ता नगरेको र भाका सार्दै पटक-पटक छल्ने गरेपछि बरालले काठमाडौं प्रहरी परिसरमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा पक्राउ पूर्जी जारी भएपछि अनामनगरस्थित सिंहदरबार वृत्तका प्रहरीले भेटवाललाई गिरफ्तार गरेको थियो ।

यसरी गिरफ्तारीमा परिएला भन्ने ठेकेदार मनोज भेटवालले सोच्नसम्म नसकेको बताइन्छ । त्यसदिन सिंहदरबार वृत्तका प्रमुख डीएसपीले बिदा लिएको हुँदा इन्चार्ज थिए इन्स्पेक्टर सुनिल कार्की । मनोज गिरफ्तारीमा पर्दापर्दै उनले कतै फोन लगाएर आफूलाई पक्राउ गरिएको जानकारी गराएका थिए । त्यसरी फोन गरेको केहीबेरमै प्रहरी इन्चार्जलाई ‘माथि’बाट फोन आयो र उनी अभियुक्तलाई छोड्न बाध्य भए ।
भेटवालले आफ्ना निकटस्थहरूसँग भन्ने गरेका थिए- ‘राजकुमारलाई भाखा दिने हो, अब पैसा दिने होइन, मैले आइजिपीलाई मिलाइसकेको छु।’
यसरी आइजिपी दीपक थापालाई आफूले मिलाएको दाबी भेटवालले गरेपनि उनका कुरामा कसैले विश्वास गरेका थिएनन् । पक्राउ पर्नेबित्तिकै त्यहाँबाट भगाइएपछि भेटवालका खास-खास साथीहरूले भेटवालको पहुँच निकै बलियो रहेको महसूस गरेका थिए । तर, अभियुक्तलाई प्रहरी थानाबाटै भगाइएको खबर राजधानीमा हावासरी फैलियो र गृहमन्त्रीसम्म यो कुरा पुग्यो । यस सम्बन्धमा के भएको भनी मन्त्री रमेश लेखकले आइजिपीसँग सोधपुछ गर्दा उनले उजुरकर्ताविरुद्ध पनि उजुरी परेको र पक्राउ पूर्जी जारी भएको भन्ने आधारहीन ब्रीफिङ दिएका थिए ।
आइजिपीको कुरामा मन्त्री विश्वस्त हुन सकेनन्, त्यसपछि गृहमन्त्रीले अभियुक्तलाई गिरफ्तार गर्न आदेश दिनुभयो र सोही साँझ भेटवाल पक्राउ परे । तर पक्राउ परेपनि उनलाई थानामा नराखी ह्याम्स अस्पतालमा पुर्याइयो र, क्याबिन नम्बर ८१२ मा आरामसँग राखिएको छ । आइतबार भेटवाललाई थप ६ दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

यसरी आइजिपीलाई गुमराहमा पारेर कसैले भेटवाललाई प्रहरी थानाबाट भगाउन सफल भएपनि तथ्य बुझेपछि आइजिपी पनि पीडितलाई न्याय दिलाउन यतिबेला लागिपरेको बुझिएको छ । तर, मनोज भेटवाललाई पक्राउ गर्ने, भगाउने र पुनः पक्राउ गर्ने कार्य भएकै दिन (असार १३) काठमाडौं प्रहरी परिसरमा अर्को चलखेल भएको पाइएको छ । प्राप्त जानकारीअनुसार सोही दिन प्रहरी परिसरमा बैकिङ कसुर हेर्दै आएका डीएसपी केदार पनेरूलाई उक्त शाखाबाट सरुवा गरि अनुचित लेनदेन शाखामा पुर्याइएको छ । र , भेटवालको मुद्दा हेर्ने जिम्मेवारी मुद्दा शाखाका प्रमुखलाई दिइएको छ।
काठमाडौंको रत्नपार्कनजिकै पुरानो बसपार्कमा सत्ताइस तले ब्यापारिक भवन बनाउने भन्दै भेटवालले सात हजार भन्दा बढी मानिससँग नगद उठाएको बताइन्छ । सर्वसाधारणको रकम उठाएर सम्पर्कविहीन भएपछि यसअघि पनि भेटवाल पक्राउ परेका थिए । यसपटकचाहिँ ठूलो रकम लिएर निर्धारित समयमा फिर्ता नगरेको र त्यसबापत दिइएको चेक बाउन्स भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए । महानगरको वडा कार्यालयमै भएको कानूनी सम्झौतालाई समेत अटेर गरि भेटवालले पीडितलाई नै उल्टो पक्राउ गराउने धम्की दिन थालेका थिए । त्यसदिन प्रहरीले भेटवाललाई भगाएर पुनः पक्राउ नगरेको भए यो मुद्दालाई प्रतिनिधिसभाको बैठकमा केही सांसदहरूले जोडदार ढङ्गले उठाउने तयारी गरेका थिए ।
प्रतिक्रिया