श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले युवाले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनुपर्ने बताएका छन् । आज (१६ असार) राष्ट्रिय युवा परिषदद्वारा आयोजित युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा मन्त्री भण्डारीले ऊर्जावान् युवा देशको प्रमुख शक्तिस्रोतका रुपमा रहेको बताउँदै उनले स्वदेशमै उद्यमशीलता गर्नुपर्ने बताएका हुन् ।
उनले बाध्यात्मक वैदेशिक रोजगारलाई आगामी दश वर्षभित्र अन्त्य गर्नका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकका रुपमा कार्यक्रम घोषणा गरेको समेत जानकारी दिए । “वैदेशिक रोजगार स्वेच्छिक हुनुपर्छ, बाध्यमात्मक हुनुहुँदैन, स्वेच्छाले जानेहरुलाई रोक्न सकिँदैन,” उनले भने “तर, रोजगारी नपाएर बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारमा जानेहरुलाई देशभित्रै रोजगारको अवसरा सृजना गर्न श्रम मन्त्रालय संरचना र नीतिसहित काम गरिरहेको छ ।”
रोजगारी सृजनाका लागि निजी क्षेत्रसँगको समन्वय, सहकार्य गरी अवसर अवसर सृजना गर्न सरकारले आवश्यक नीतिनियम सुधार गरेर जाने उनले बताए ।
मन्त्री भण्डारीले नेपालीहरु थोरै पैसाका लागि विदेशिनुभन्दा स्वदेशमा नै स्वरोजगार गरेर बस्न उपयुक्त भएको धारणा राखे । नेपाली श्रमबजारमा प्रत्येक वर्ष पाँच लाख श्रमशक्ति आउने गरेको जिकिर गर्दै उनले श्रमशक्तिहरुलाई सीप र क्षमता अभिवृद्धि विकास गर्न सके देशभित्रै रोजगारीको अवसरलाई सदुपयोग गर्न सकिने उल्लेख गरे ।
प्रतिक्रिया