‘सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’

‘सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’


रक्षामन्त्री मानवीर राईले विपद् नेपाली सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धिका लागि सरकारले पहल गरिरहेको बताएका छन् ।

राष्ट्रियसभाको आज (१८ असार)को बैठकमा विनियोजन विधेयक २०८२ सम्बन्धमा रक्षा मन्त्रालयका सन्दर्भमा सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफमा उनले सुरक्षाकर्मी र कर्मचारीको सुेवासुविधा वृद्धिका लागि आर्थिक स्रोतको बढोत्तरी जरुरी रहेको धारणा राखे ।

अर्थतन्त्रको सुधार र विस्तारपछि राज्यका हरेक क्षेत्रमा सेवा सुविधा वृद्धिका लागि कुनै पनि कन्जुस्याइँ नगरिने रक्षामन्त्री राईको भनाइ छ ।

पछिल्ला दिनमा मुलुकको अर्थतन्त्र सुधारात्मक दिशामा अगाडि बढेको अर्थमन्त्रीले स्पष्ट पारिसक्नुभएको सन्दर्भमा आगामी दिनमा सो बारेमा सरकारले सकारात्मक तवरले नै सोच्ने उल्लेख गरे ।

यस्तै, राष्ट्रिय सेवा दल (एनसिसी) कार्यक्रमलाई क्रमशः विस्तार गर्दै लैजाने सोचमा सरकार रहेको मन्त्री राईले सदनलाई जानकारी गराए । उनले आगामी आवमा तराई मधेस र सिमाना जोडिएका केही जिल्लामा सो कार्यक्रम अगाडि बढाइने उल्लेख गरे ।

‘अनुशासन नै राष्ट्रको सेवाको मूल जग हो’ भन्ने आदर्श बोकेको राष्ट्रिय सेवा दल (एनसिसी) कार्यक्रम युवा विद्यार्थीको चरित्र, नेतृत्व गुणस्तर, खेलकुद भावना विकास गर्ने लक्ष्यका साथ सञ्चालित छ । यस्तै, निःस्वार्थ सेवाको आदर्श मूल्य एवं भावनाको विकास गरी जीवनका सबै क्षेत्रमा समर्पित नेतृत्व क्षमता अभिवृद्धि गर्न यो कार्यक्रम सफल भएको छ ।

सो कार्यक्रम सेनाको व्यवस्थापनमा कार्यान्वयन तथा सञ्चालन हुन्छ । कार्यक्रमअनुसार सिनियर र जुनियर डिभिजनका लागि दुई प्रकारका तालिम हुन्छन् । यी तालिमहरूको मुख्य उद्देश्य विद्यार्थीको शारीरिक र मानसिक क्षमता अभिवृद्धि गरी अनुशासित, बफादार र देशप्रति समर्पित युवा सिर्जना गर्नु हो । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी हन्छन् भने सिनियर डिभिजनले दश जोड दुईका विद्यार्थी सहभागी हुने गरेका छन् ।

आगामी आवको बजेटमा ‘राष्ट्रिय सेवा दलको दायरा विस्तार र प्रभावकारिता अभिवृद्धि गरिनेछ’ भन्ने विषय समावेश गरिएको छ । सरकारको निर्देशनमा रहेर आगामी दिनमा सेनाले उत्पादनमूलक क्षेत्रमा पनि सक्रिय हुने र त्यसबाट मुलुकलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उनको कथन थियो ।

photo: rss