माधव नेपालप्रति लक्षित अभिब्यक्ति दिएपछि नेकपा एसले माग्यो नेतृ झाँक्रीसँग स्पष्टीकरण

माधव नेपालप्रति लक्षित अभिब्यक्ति दिएपछि नेकपा एसले माग्यो नेतृ झाँक्रीसँग स्पष्टीकरण


आफ्नै पार्टीको अध्यक्षप्रति लक्षित गर्दै ‘मरेको सिनो अब बोक्न नसकिने’ अभिव्यक्ति दिने साहस प्रदर्शन गरेकी नेकपा (एकीकृत समाजवादी)पार्टीकी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई सो स्पष्टीकरण सोधेको छ । पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै पार्टी अनुशासन आयोगले स्पष्टीकरण मागेको हो ।

युवा सङ्गठनको रूपन्देहीमा भएको कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै अभिव्यक्ति दिएको तथा पार्टी सङ्गठनको ‘अर्ली’ अधिवेशनबाट नेतृत्व तथा कार्यसमिति चयनको माग गरेका विषयमा स्पष्टीकरण सोधेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिएका छन् ।

चित्तबुझ्दो स्पष्टीकरण नदिए नेतृ झाँक्रीमाथि आवश्यक कारबाही गर्ने जनाइएको छ । उक्त पार्टीले अध्यक्ष नेपालको अदालतमा विचाराधीन मुद्दाबारे सार्वजनिक रूपमा नबोल्न निर्देशनसमेत दिएको छ ।

अध्यक्ष नेपालमाथि विशेष अदालतमा दायर मुद्दाबारे पार्टीले गत जेठ २२ गते धारणा सार्वजनिक गरेकाले त्यस धारणासँग बाँझ्ने गरी पार्टी पङ्क्तिलाई कुनै अभिव्यक्ति नदिन, नलेख्न निर्देशन दिएको थियो । विद्यमान परिस्थितिलाई कसरी सामना गर्ने भन्नेबारे आवश्यक निर्णय संस्थागत रूपमा लिने बताउँदै पार्टीले सार्वजनिक रूपले नबोल्न पार्टीका सबै तहका नेतालाई आग्रह गरेको थियो ।

पार्टीका बैठकमा आफ्ना धारणा राख्न तथा छलफल गर्न पाइने भएकाले कुनै पनि बहानामा सार्वजनिक वाद–प्रतिवादमा नउत्रिन सबैलाई निर्देशन दिइएको जनाइएको छ ।

ज्ञातव्य छ, पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एसका अध्यक्ष माधव नेपालसहितलाई विशेष अदालतमा मुद्दा दायर गरेपछि सो पार्टीभित्रैबाट अध्यक्षप्रति शंका प्रकट गर्न थालिएको छ ।