त्रिभुवन विमानस्थलमा ‘कोड वर्ड’ प्रयोग गरेर मानव तस्करी गर्नेहरु पुनः सक्रिय

त्रिभुवन विमानस्थलमा ‘कोड वर्ड’ प्रयोग गरेर मानव तस्करी गर्नेहरु पुनः सक्रिय


त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र ट्राभल एजेन्सी मानव तस्कारीमा एक महिनापछि पुनः सक्रिय हुन थालेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले भिजिट भिसामा विदेश पठाउँदा ‘कोड वर्ड’ प्रयोग गरेर पुनः पठाउनको लागि तयार गरेको तथ्य प्राप्त भएको छ ।

विमानस्थलका केही कर्मचारी र ट्राभल एजेन्सीका सञ्चालकहरू दैनिक भेटघाट गरेर गृह मन्त्रालयको ग्रीन सिग्नल मिलेको भन्दै पुनः ‘कोड वर्ड’ प्रयोग गरेर मानव तस्करीमा उत्रिएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाको सेटिङका विषयमा गत ७ जेठमा तत्कालिन त्रिभुवन विमान स्थलका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर विस्तृत छानबिन गरिरहेको भएपनि विकृति भने अझै रोकिन सकेन । तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई केन्द्रमा राखेर अख्तियारले विस्तृत छानबिन गरिरहेको छ । तर अख्तियारलाई नै निक्रिय बनाउने योजनाका साथ विमानस्थलका कर्मचारीले शनिबार (२१ असार) बाट ‘एल’ र ‘एम’को काम पुनः शुरु भएको र पुरानो रेटमा परिवर्तन भएको म्यासेज पठाएको पाइएको छ । कोड ‘एल’बाट ६५ हजार र ‘एम’मा ४० हजार लिन भनिएको छ ।

यूएई र कुवेत जाने महिलाहरूलाई त्यहाँका कर्मचारीले ‘एल’ र पुरुषलाई ‘एम’ कोड दिएका छन् । कर्मचारीसँगको साँठगाँठमा बिचौलियाहरूले त्रिभुवन विमानस्थलबाट महिलाहरूलाई यूएई र त्यहाँबाट कुवेत पठाउने गरेका यसअघि नै समाचारहरू बाहिरिएका थिए । कुवेत पुगेका महिलाहरूले त्यहाँ घरेलु कामदारका रूपमा बस्ने र थप पीडित भएर फर्किनुपरेको प्रहरीले यसअघि गरेको अनुसन्धानबाट खुलेको थियो । बिचौलियाहरूसँग मिलेर अध्यागमनका कर्मचारीले त्यसरी खाडीमा जाने प्रतिमहिला कम्तीमा ४० हजार र पुरुषसँग २० हजार असुल्ने गरेका हुन् ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा गएका विष्णु कोइराला र उच्च स्तरको निर्णय भन्दै अहिले सेटिङ गर्न कर्मचारीलाई निर्देशन दिइएको पाइएको छ । स्रोतका अनुसार पछिल्ला केही सातादेखि काठमाडौंका विभिन्न होटल र रेस्टुरेन्टहरूमा दलाल र अध्यागमन अधिकारीबीच गोप्य भेटघाट बाक्लिएको छ । ‘हामीले केही होटलहरूमा यस्ता गोप्य छलफलको निगरानी गरेका छौं’- एक अनुसन्धान अधिकृत भन्छन्, ‘ती छलफलहरू आगामी फ्लाइट र ‘क्लियर पास’को मिलेमतोबारे भएको देखिन्छ।’ एक एजेन्टको भनाइ उद्धृत गर्दै स्रोतले दाबी गरेको छ- ‘पहिलेदेखि नै सेटिङ मिलाइएको छ, आइतबार (२२ असार) बिहानको फ्लाइटमा उनीहरू जान्छन्, रोकिएनन् भने फेरि खुल्ला व्यापार सुरु हुन्छ ।’

‘हरियो सिग्नल’ को हल्ला र मन्त्रालयको मौनता

एजेन्टहरूले गृह मन्त्रालयबाट ‘हरियो सिग्नल’ पाइएको भन्दै आफ्नो नेटवर्कमा सक्रियता बढाएका हुन् । नयाँ नियुक्त अध्यागमन प्रमुख विष्णु कोइरालाको मौखिक आदेशमा एजेन्टले आफनो नेटवर्कलाई अगाडि बढाएका स्रोतको दाबी छ । गृहमन्त्रालयका एक अनुसन्धान अधिकृत अनुसार ‘मन्त्रालय मौन छ भन्ने होइन, तर गम्भीर अनुसन्धान नहुँदासम्म प्रत्यक्ष कारवाही सम्भव छैन ।’

तस्कर समूहले कागजात नक्कली बनाएर पठाउने गरेको थियो । जसमा अध्यागमनका कर्मचारीसँग पनि सेटिङ मिलाएर महिला एवम् पुरुषलाई दैनिक खाडी लगायतका मुलुकमा पठाउने गरेका छन्  । अहिले भिजिट भिसामा जान चाहनेका लागि होटेल बुकिङ, जहाजको टिकट र भिसा भए पुग्छ, तर कानुनी निकायको मैन क्रियाकलापको कारण आम नेपाली श्रमजिवी युवायुवती मानव तस्करको कब्जामा पर्ने गरेका छन् । यसलाई रोकथाम गनुपर्ने कार्यमा केही सरकार कर्मचारी ले आफनो स्वार्थको लागी काम गर्दा देशको स्वाधीनता र अस्तित्व नै संकटमा पर्ने गरेको छ ।