अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ५० पुगेको छ । उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी गरिरहेका छन् ।
बाढीका कारण मध्य टेक्सासस्थित ग्वाडालुप नदी केवल ४५ मिनेटमा २६ फिट (आठ मिटर)ले बढेको थियो ।
केर काउन्टीको ग्रीष्मकालीन शिविरमा सयौँ मानिस बसिरहेका समय आएको बाढीका कारण ठूलो सङ्ख्यामा मानवीय हताहत भएको हो ।
अन्य काउन्टीहरूमा पनि बाढीको असर परेको र धेरै पीडितहरू फेलापरेका छन् । बाढीका कारण आइतबार (६ जुलाइ)सम्म मृत्यु हुनेहरूको सङ्ख्या ५० पुगेको छ ।
टेक्सास डिपार्टमेन्ट अफ इमर्जेन्सी म्यानेजमेन्टका प्रमुख निम किडले वायु, स्थल र जल सेनाले ग्वाडालुप नदीको किनारमा वेपत्ताहरूको खोजी कार्य जारी राखेको जनाएका छन् । बेपत्ता भएका सबै नभेटिँदासम्म उनीहरूको खोजी जारी रहने उनको भनाइ छ ।
टेक्सासका गभर्नर ग्रेग एबोटले आफूले राज्यको विपद् घोषणालाई विस्तार गरिरहेको र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग थप सङ्घीय स्रोतको अनुरोध गरिरहेको बताएका छन् भने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले उक्त विपत्तिलाई ’नबुझिने खालको त्रासदी’को संज्ञा दिएका छन् ।
प्रतिक्रिया