दक्षिणी झापाको उन्नतिमा कृषि र पर्यटन

दक्षिणी झापाको उन्नतिमा कृषि र पर्यटन


नेपालको पूर्वी सिमान्तस्थित झापा सदरमुकाम चन्द्रगढी-भद्रपुर दक्षिण झापालाई चिनाउने पर्यटकीय स्थलको नाम लिने हो भने पहिलो स्थानमा धार्मिक तथा पौराणिक स्थल किच्चकबध धार्मिक स्थल पर्दछ । साविकको महेशपुर तथा पृथ्वीनगर गाउँ विकास समितिको सिमाना स्थलमा रहेको यो ठाउँ पवित्र नदी मेची र देउनिया खोलाको किनारमा अवस्थित थुम्कोका रूपमा रहेको छ । हरेक वर्ष स्वस्थानी पूर्णिमाका दिन मेला लाग्ने यस स्थलमा नेपाल-भारत लगायत आसपासका क्षेत्रबाट हजारौं तीर्थयात्री मेला भर्न र दर्शन गर्न आउने गरेका छन् ।

किच्चकबधको ऐतिहासिकता २२ सय वर्ष पुरानो भएको पाइएको छ । यस स्थलमा भेटिएका पुरातात्विक सामग्रीहरूको वैज्ञानिक परीक्षणबाट इशापूर्व प्रथम शताव्दीतिरको मानव सभ्यतासित गाँसिएका सामग्री प्रमाणित भएको थियो । यस आधारमा यो क्षेत्रको राम्रो पहिचान दिलाउन सकिए आन्तरिक र बाह्य दुवै खालका पर्यटकको गन्तव्य स्थल बन्न सक्ने क्षेत्रका रूपमा ‘किच्चक बध’को सम्भावना देखिन्छ ।

त्यसैगरी, दक्षिणी झापालाई चिनाउने अर्को पर्यटकीय स्थल हो ‘कचनकवल’ । नेपालकै होचो स्थानको पहिचान बनाएको कचनकवलले झापालाई देश–विदेशमा चिनाउन सफल भएको छ । पूर्वी नेपालको झापा जिल्लाको दक्षिणमा अवस्थित पूर्व र दक्षिणमा भारतसँग सिमाना जोडिएको, नेपालकै होचो स्थानको परिचय कचनकवलको रहेको छ । यही होचो स्थानको नामबाट गाउँपालिकाको नाम रहन गएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा भारत, पश्चिममा बह्रदाशी गाउँपालिका र भारत, उत्तरमा हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिका तथा दक्षिणमा भारतसम्म फैलिएको छ । मनसुनी हावा पानी (अर्धउष्ण र उष्ण हावा पानी पनि भनिन्छ) पाइन्छ । तापक्रमः गृष्मऋतु ३६ डिग्री से.सम्म हुन्छ भने शीतकालमा औसत न्युनतम तापक्रम १० डिग्री से.सम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट (मे देखि सेप्टेम्बर) यहाँ सरदर १३८ सेन्टिमिटर सम्म वर्षा हुन्छ ।

यी दुई चर्चित स्थानका अतिरिक्त दक्षिण झापालाई पहिचान दिलाउने अर्को स्थल हो धनुष पोखरी । यो पोखरीको पहिचान पनि किच्चकबध स्थल जस्तै माहाभारतको कालखण्डसँग जोडिएको छ । साविकको जलथल गाउँ विकास समिति (हाल हल्दिवारी गापा) मा रहेको यस पोखरीले पनि झापालाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

यी र यस्ता चर्चित स्थान रहेको पूर्वी दक्षिणी झपा विकास निर्माण र आधारभुत आवश्यकीय साधन तथा सुविधाबाट भने अन्य स्थानका तुलनामा अझै पनि पछाडि नै छोडिएको अवस्थामा छन् । यी क्षेत्रमा शिक्षा, स्वास्थ्य र रोजगारका अवसर कम रहेकै कारण यहाँका युवा युवती अवसरको खोजीमा गाउँ छोडेर अन्यत्र पलायन हुने क्रम तीव्र देखिन्छ ।

यहाँका स्थानीयको मूल पेशा कृषि रहेको छ भने पछिल्ला वर्षहरूमा कृषि उपजले उचित मूल्य नपाउँदा पेशा परिवर्तन गर्नेहरू पनि बढ्दै गइरहेका छन् । भारतीय बजारबाट सस्तो दरमा आउने कृषि उत्पादनका कारण यस क्षेत्रका कृषकको उत्पादनले बजारमा प्रतिष्पर्धा गर्न नसक्दा कृषि पेशा छोड्ने क्रम बढेको हो ।

यस्तै पछिल्लो एक दशकयता जंगली हात्तीको उपद्रो बढ्दै जाँदा कृषि उत्पादनमा क्षति हुने क्रम पनि बढ्न थालेपछि व्यवसायिक कृषक पेशा परिवर्तनमा उद्यत देखिन्छन् । संघीय शासन प्रणाली स्थापना भएपछि ग्रामीण सडक निर्माणले गति लियो, कृषि क्षेत्रमा अनुदान कार्यक्रमले प्रवेश पायो तर पनि कृषकको जीवन स्तर उक्सने तथा उन्नति हुने वातावरण निर्माण नहुँदा कृषि पेशा सम्मानित पेशा बन्न सकेको छैन ।

यस क्षेत्रको उन्नतिका लागि कृषि र पर्यटन क्षेत्र महत्वपूर्ण रहेका छन् । संघ, प्रदेश र स्थानीय तहका रूपमा रहेका तीनवटै सरकारले समन्वयमा लगानी गर्ने हो भने झापा सदरमुकाम दक्षिण क्षेत्रको उन्नति समयानुकुल तीव्र बन्ने थियो ।