सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
नेपाल-चीनको सिमानाको ल्हेन्दे खोलामा गएराति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात-आठवटा गाडी बगाएको छ ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुऱ्याउनुका साथै त्यहाँ रहेका लोड गरिएका आठ/नौवटा कन्टेनर डिब्बा पनि बगाएको छ ।
बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुऱ्याएको जानकारी दिइएको छ । खोलामा बढी आएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमाण्डमा तालिमप्राप्त सातसहित २१ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
भोटेकोशीको बहाब कायमै रहेकाले उद्धार सामग्रीसहित खटिएका टोली घटनास्थल क्षेत्रमा पुग्ने प्रयास गरिरहेको जानकारी दिइएको छ । प्रहरीका अनुसार ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएकोे छ ।
रसुवा गोसाइँकुण्ड गाउँपालिका-२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी-रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध रहेको जानकारी दिइएको छ ।
दुई जनाको सकुशल उद्धार
ल्हेन्दे खोलामा आएको भीषणका कारण त्रिशूली नदीको उच्च वहावमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरद्वारा बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको अनुसार नुवाकोट विदुर नगरपालिका-१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको वर्षाका कारण एक्कासी त्रिशूलीमा आएको बाढीमा फसेका थिए । अहिले दुवै जनाको हेलिकोप्टरद्वारा सकुशल उद्धार भइसकेको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रतिक्रिया