रुसले आफ्नो छिमेकी विरुद्धको युद्धमा नयाँ लाभ हासिल गरेको दाबी गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युक्रेनमा थप हतियार पठाउने बताएका छन् । ट्रम्पको घोषणा वासिङ्टनले गत हप्ता किएभलाई केही हतियार ढुवानी रोकेको बताएपछि आएको हो ।
हतियार ढुवानीको रोकले युक्रेनी अधिकारीहरूलाई अचम्ममा पारेको थियो र स्पष्टताका लागि सङ्घर्ष गर्न बाध्य बनाएको थियो ।
तीन वर्षभन्दा बढी समयको युद्धमा रुसको सबैभन्दा ठूलो क्षेप्यास्त्र र ड्रोन आक्रमणको सामना गरिरहेको किएभका लागि यो रोकावटले सम्भावित गम्भीर चुनौती खडा गरेको छ ।
‘हामीले थप हतियारहरू पठाउनु पर्नेछ- मुख्यतया रक्षात्मक हतियारहरू, उनीहरूलाई धेरै धेरै कडा चोट लागेको छ’, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई युक्रेनका बारेमा बताउँदै आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘खुसी नभएको’ खुलासा गरे ।
पुटिनले सन् २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेका थिए र ट्रम्पको दबाबका बावजुद द्वन्द्व अन्त्य गर्न थोरैमात्र इच्छा देखाएका छन् ।
मस्कोले सोमबार आफ्ना बलहरूले महिनौँसम्म अगाडि बढेपछि युक्रेनको मध्य डनिप्रोपेत्रोभस्क क्षेत्रमा पहिलो गाउँ कब्जा गरेको बताएपछि अमेरिकी राष्ट्रपतिले युक्रेनलाई थप हतियारहरू पठाउने प्रतिज्ञा गरेका हुन् ।
घोषणा हुनुअघि रुसले युक्रेनको सैन्य भर्ती केन्द्रहरूसहित नयाँ ठूलो मात्रामा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको थियो । किएभले पनि मस्को क्षेत्रमा रहेको रूसी गोलाबारुद कारखानामा ड्रोन आक्रमण गरेको बताएको छ ।
‘कठिन’ अवस्था
रुसले आफ्ना बलहरूले डनिप्रोपेत्रोभस्क क्षेत्रको डाच्ने गाउँ कब्जा गरेको बताएको छ । उक्त गाउँ एक महत्त्वपूर्ण औद्योगिक खानी क्षेत्र हो र यसले बढ्दो रुसी हवाई आक्रमणको सामना गरिरहेको छ । गत महिना, मस्कोले आफ्ना बलहरूले आफ्नो अभियानमा पहिलो पटक डनिप्रोपेत्रोभस्क क्षेत्रको सिमाना पार गरेको बताएको थियो ।
रुसी बलहरूले हालैका महिनाहरूमा क्षेत्रीय सिमाना पार गर्नुलाई मुख्य रणनीतिक उद्देश्य बनाएको देखिन्छ र त्यहाँ गहिरो अग्रगतिले युक्रेनका लागि रसद र आर्थिक समस्याहरू खडा गर्नसक्छ ।
किएभले अहिलेसम्म डनिप्रोपेत्रोभस्कमा कुनै पनि रुसी उपस्थितिलाई अस्वीकार गरेको छ । युक्रेनको सेनाले सोमबारको सुरुमा आफ्नो सेनाले डाच्नेको ‘वरपर’ सहित डनिप्रोपेत्रोभस्कमा भएका आक्रमणहरूलाई ‘प्रतिरोध’ बताएको थियो ।
डनिप्रोपेत्रोभस्क पाँच युक्रेनी क्षेत्रहरू डोनेत्स्क, खेर्सन, लुगान्स्क, जापोरिज्जिया र क्रिमियामध्ये एक होइन । यी पाँच क्षेत्रलाई मस्कोले सार्वजनिक रूपमा रुसी क्षेत्र भनेको छ ।
डनिप्रोपेत्रोभस्कको अवस्थालाई किएभका बलहरूका लागि ‘कठिन’ भनेर वर्णन गर्दै युक्रेनी सैन्य विशेषज्ञ अलेक्सी कोपित्कोले रुसले यस क्षेत्रमा कुनै प्रकारको बफर जोन बनाउन चाहेको बताए ।
ह्वाइट हाउसले गत हप्ता कुन हतियार कार्यक्रमहरू प्रभावित भएका थिए भन्ने विवरण नदिई ट्रम्पका पूर्ववर्ती जो बाइडेनले प्रतिज्ञा गरेका केही मुख्य हतियार ढुवानी युक्रेनलाई रोकेको बताएको थियो ।
अमेरिकी रक्षा आवश्यकता र विदेशलाई सैन्य सहयोगको समीक्षा गरेपछि यो निर्णय गरिएको वासिङ्टनले बताएको थियो ।
बाइडेनले पठाउनुभएको अर्बौं डलरको समर्थन र हतियारको आलोचना गर्दै जनवरीमा ट्रम्प ह्वाइट हाउस फर्केपछि किएभलाई लामो समयदेखि अमेरिकी सहायता रोकिने त्रास छ ।
बाइडेन प्रशासनअन्तर्गत वासिङ्टनले युक्रेनलाई ६५ अर्ब डलरभन्दा बढी सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।
ट्रम्पले दोस्रो पटक पदभार सम्हालेदेखि किएभका लागि कुनै नयाँ सैन्य सहायता प्याकेजको घोषणा गरेका छैनन् ।
प्रतिक्रिया