टेक्सासमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या सय नाघ्यो

टेक्सासमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या सय नाघ्यो


टेक्सासमा विनाशकारी बाढीबाट मर्नेहरूको सङ्ख्या एक सयभन्दा बढी पुगेको छ । उद्धारकर्ताहरूले पानीको धारले बगाएका मानिसहरूको खोजी जारी राखेका छन् ।

मृतकमध्ये कम्तीमा २७ जना बालबालिका थिए । प्रकोपको समय उनीहरू जुलाईको चौथो बिदाको सप्ताहन्त मनाउँदै नदीको किनारमा रहेको युवा ग्रीष्मकालीन शिविरमा बसिरहेका थिए ।

पूर्वानुमानकर्ताहरूले जलमग्न जमिनमा वर्षा हुँदा थप बाढीको चेतावनी दिएका छन् भने वर्षाले हेलिकप्टर, डुङ्गा, कुकुर र करिब एक हजार सात सय ५० जना कर्मचारी समावेश भएको उद्धार प्रयासलाई जटिल बनाएको छ ।

अझै पनि बाढी निम्त्याउने सम्भावनासहित भारी वर्षाको खतरा रहेको टेक्सासका गभर्नर ग्रेग एबोटले सोमबार एक विज्ञप्तिमा भनेका छन् । पीडितहरूको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

गत साता शुक्रबार बिहान आएको बाढीलाई ट्रम्पले ‘एक सय वर्षको प्रकोप’ भन्दै यसलाई ‘कसैले पनि अनुमान नगरेको’ अभिव्यक्ति दिएका छन् ।