‘जलवायु परिवर्तनका कारण युरोपको तापक्रम चार डिग्रीसम्म बढी’

‘जलवायु परिवर्तनका कारण युरोपको तापक्रम चार डिग्रीसम्म बढी’


युरोपमा हालै जलवायु परिवर्तनका कारण चार डिग्री सेल्सियससम्म बढी भएको वैज्ञानिकहरूको एउटा नयाँ अध्ययनले देखाएको छ । यस तीव्र गर्मीका कारण हजारौँ मानिसहरू गम्भीर स्वास्थ्य जोखिममा परेका छन् ।

युरोपका पाँच विभिन्न अनुसन्धान संस्थाका वैज्ञानिकहरूले १२ वटा प्रमुख सहरहरूमा गरिएको अध्ययनको आधारमा यस्तो निष्कर्ष निकालेका हुन् ।

उक्त अध्ययनले जुन २३ देखि जुलाई २ सम्मको गर्मी लहर विश्लेषण गरेको थियो ।

उनीहरूको भनाइअनुसार, यदि जलवायु परिवर्तनको प्रभाव नभएको भए ती सहरहरूको तापक्रम दुई देखि चार डिग्री सेल्सियस कम हुने सम्भावना थियो ।

यी शहरहरूमा पेरिस, लन्डन, रोम र म्याड्रिड जस्ता प्रमुख सहरहरू पनि रहेका छन्, जहाँ कुल करिब ३ करोडभन्दा बढी जनसंख्या बसोबास गर्छ ।

वैज्ञानिकहरूका अनुसार अत्यधिक गर्मीका कारण विशेष गरी वृद्ध, साना बालबालिका, दीर्घरोगी तथा बाहिरी क्षेत्रमा काम गर्ने व्यक्तिहरू बढी प्रभावित भएका छन् । 

अनुमान अनुसार ती १२ शहरहरूमा सो अवधिमा करिब दुई हजार ३०० जनाको मृत्यु भएको छ । यसमध्ये झन्डै एक हजार ५०० जनाको मृत्यु जलवायु परिवर्तनका कारण तापक्रम अत्यधिक बढेका कारण मात्र भएको हुनसक्ने वैज्ञानिकहरूको भनाइ छ ।

केही ठाउँहरूमा राति समेत तापक्रम नघट्दा शरीरलाई विश्राम लिन गाह्रो भएको देखिएको थियो । ‘तातो मौसमको सामान्यतया बाहिरी प्रभाव कम देखिए पनि यसले धेरै मानिसहरूको ज्यान लिने सम्भावना रहन्छ’- वैज्ञानिकहरू बताउँछन् ।

सम्बद्ध अधिकारीहरूले पूर्ण मृत्युसंख्या सार्वजनिक गर्न केही हप्ता लाग्न सक्ने जनाएका छन् । यस्ता गर्मी लहर अघिल्ला वर्षहरूमा पनि युरोपमा हजारौँ मानिसको मृत्युको कारण बनेका थिए ।