नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य रहेको बताउनुभएको छ ।
बागलुङको बिहुँ निवासी प्रतिनिधिसभाका पूर्वसदस्य एवं कांग्रेसका निष्ठावान नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३औँ दिनको पुण्यतिथिमा शुक्रबार (२७ असार) कांग्रेसले बागलुङमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा उहाँले कँडेल बिपीको पथमा हिँड्ने निष्ठावान र इमान्दार नेताका रूपमा रहनुभएको उल्लेख गर्नुभयो ।
‘उहाँ संसाद हुनुभयो, कहिल्यै लाभको पदमा बस्न खोज्नुभएन, सधैँ जनताको पक्षमा वकालत गर्दै हिँड्नुभयो उहाँको निष्ठा बिपीसँग मिल्छ’, देउवाले भन्नुभयो- ‘देश र राष्ट्रका लागि उहाँको योगदान अतुलनीय छ, नेपाली राजनीतिमा उहाँको नाम स्वर्ण अक्षरमा लेखिने छ, उहाँको मार्गलाई अन्य कांग्रेसका नेता तथा कार्यकर्ताले पछ्याउन आवश्यक छ ।’ उहाँले राजनीतिमा इमान र प्रतिष्ठा कमाउनुभएका कँडेलको निधनले कांग्रेसलाई ठूलो क्षति पुऱ्याएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
प्रतिनिधिसभाका पूर्वसदस्य कँडेलको यही असार १५ गते आइतबार निधन भएको थियो । चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जाने तयारीमा रहनुभएका उहाँको निधन भएको थियो ।
विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ मा नेपाली कांग्रेसका तर्फबाट विजयी कँडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमान्दार नेताका रूपमा परिचित हुनुहुन्थ्यो ।
बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा निरन्तर क्रियाशील कँडेल नेपाली कांग्रेस बागलुङका पूर्वसभापति हुनुहुन्थ्यो । विसं २०४६ आन्दोलनका क्रममा जेल पर्नुभएका उहाँ बहुदलपछि जिल्ला सभापति र सांसद बन्नुभएको थियो । उहाँ विसं १९९५ पुस १० गते काठेखोला गाउँपालिका वडा नं ६ बिहुँकोटमा जन्मनुभएको थियो ।
photo: rss
प्रतिक्रिया