पूर्व निर्वाचन आयुक्त शर्माको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

पूर्व निर्वाचन आयुक्त शर्माको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त


नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पूर्वआयुक्त इला शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ति जारी गरी शनिबार उपचारका क्रममा निधन भएकी शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

स्व. शर्माद्वारा नेपालका विभिन्न समयमा सम्पन्न भएका निर्वाचनमा सक्रिय योगदान पुर्‍याइएको कांग्रेसले उल्लेख गरेको छ । लामो समयसम्म पत्रकारितासमेत गरेकी शर्माको निधनबाट मुलुकले एक अनुभवी व्यक्तित्वलाई गुमाएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सभापति देउवाले शर्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।