विवादित मन्त्री गुप्ताद्वारा राजीनामा

विवादित मन्त्री गुप्ताद्वारा राजीनामा


घुस लेनदेनसम्बन्धी अडिओ सार्वजनिक भएपछि विवादमा परेका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले आज (३१ असार) प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् ।

मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको प्रतिक्रिया दिएका छन् ।

आजसम्म आफूलाई सहयोग गरेका सबैप्रति धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गुप्ताका बारेमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा लाखौँ रुपैयाँ घुस लिएको श्रव्य सामग्री सार्वजनिक भएपनि उनले अस्वीकार गर्दै आएका थिए ।