पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश

पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश


एलन मस्कको विद्युतीय वाहन कम्पनी टेस्लाले संयुक्त राज्य अमेरिका र युरोपमा सुस्त बिक्रीका बीचमा नयाँ ग्राहकहरू खोज्दै गर्दा भारतमा आफ्नो पहिलो शोरूमको अनावरण गरेको छ । भारतको आर्थिक राजधानी मुम्बईमा महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीसद्वारा मंगलबार (१५ जुलाई) यसको उद्घाटन गरेपछि सञ्चालनमा आएको छ ।

टेस्लाले वर्षौंदेखि भारतमा आफ्नो चासोको सङ्केत गर्दै आएपनि विद्युतीय सवारी साधनहरूमा भारतको कडा शुल्कका कारण पछि हटेको छ । नयाँदिल्लीले विश्वव्यापी अटो निर्माताहरूले सयौँ करोड डलर लगानी गर्न र स्थानीय रूपमा कारहरू बनाउन प्रतिबद्ध भएमा मात्र विद्युतीय सवारीहरूमा आयात कर कटौती गर्ने प्रस्ताव गरेको छ ।

यसर्थ, टेस्लाले भारतमा कारखाना स्थापना गर्ने योजना अझै घोषणा गरेको छैन ।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार कम्पनीले सम्भवतः चीनबाट आयात गरिएका कारहरू बेच्नेछ । यसको डेलिभरी अगस्टको अन्त्यदेखि सुरु हुने अनुमान गरिएको छ ।

कम्पनीको वेबसाइटका अनुसार यसको मोडेल वाई भेरियन्टहरू भारतमा लगभग ७० हजार डलरको अन–रोड मूल्यबाट सुरु हुनेछ ।

विश्वभरिका देशहरूमा आफ्ना कारहरूको माग घट्दै गएको बेला टेस्लाको भारत पदार्पण कम्पनीका लागि एक महत्त्वपूर्ण समयमा आएको छ ।

टेस्लाले विश्वको तेस्रो ठूलो कार बजारलाई लिन खोज्दै गर्दा भारतको विद्युतीय सवारी (इभी) उद्योगको नवजात प्रकृति र यसको सवारी साधनहरूको भारी मूल्यका कारण छोटो अवधिमा ठूलो मात्रा देख्ने सम्भावना नरहेको विज्ञहरूले बताएका छन् ।

भारतको इभी बजार तीव्र गतिमा बढिरहेको छ तर सानो छ । अटो निर्माताहरूले सन् २०२४ मा लगभग एक लाख सवारी साधन वा कुल कार बिक्रीको तीन प्रतिशतभन्दा कम बिक्री भएको रिपोर्ट गरेका छन् । भारतले हाल संयुक्त राज्य अमेरिकासँग व्यापार सम्झौताका लागि वार्ता गरिरहेको छ, जसमा अटोमोबाइलहरूमा भन्सार शुल्कमा सम्भावित कटौती समावेश छ ।

ज्ञातव्य छ, गत फेब्रुअरीमा मस्कले वासिङ्टनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए ।