एप्पललाई समेत उछिन्दै चीनको मोबाइल बजारमा हुवावे अग्रस्थानमा

एप्पललाई समेत उछिन्दै चीनको मोबाइल बजारमा हुवावे अग्रस्थानमा


चिनियाँ प्रविधि कम्पनी हुवावे चार वर्षपछि फेरि चीनको मोबाइल बजारको पहिलो स्थानमा पुगेको छ । हुवावेले अमेरिकी कम्पनी एप्पल र चिनियाँ प्रतिस्पर्धीहरूलाई पछि पार्दै सबैभन्दा धेरै मोबाइल बिक्री गरेको हो ।

एक रिपोर्टअनुसार, हुवावेले यो वर्षको दोस्रो त्रैमासिकमा एक करोड २५ लाख मोबाइल बिक्री गर्दै १८.१ प्रतिशत बजार हिस्सा लिएको छ । यो उन्नति हुवावेका लागि ठूलो सफलता मानिएको छ ।

उक्त कम्पनीले विगतमा अमेरिकी प्रतिबन्ध र भ्रष्टाचार छानबिन जस्ता चुनौतीहरूको सामना गरेको थियो । साथै, चीनको समग्र मोबाइल बजार भने घटेको देखिएको छ ।

यस वर्षको दोस्रो त्रैमासिकमा मोबाइल बिक्री चार प्रतिशतले घटेर ६ करोड ९० लाखमा झरेको छ । अनुसन्धानकर्ता आर्थर गुओका अनुसार चीन-अमेरिका व्यापार सहमति भए पनि आर्थिक अवस्था कमजोर छ । उनले भनेका छन्, ‘मानिसहरूको खर्च गर्ने विश्वास अझै कम छ, त्यसैले मोबाइलको माग चाँडै बढ्ने सम्भावना छैन ।’

यता, हुवावे र अमेरिकाबीच लामो समयदेखि विवाद चलिरहेको छ । अमेरिकाले हुवावेलाई जासुसी गरेको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो, जसलाई कम्पनीले अस्वीकार गर्दै आएको छ ।

सन् २०१९ यता अमेरिकी प्रविधिको पहुँच गुमेपछि हुवावेले आफ्नै प्रविधि र उपकरण विकास गर्न थालेको हो । यसैबीच, एप्पलको बिक्री घटेको देखिएको छ। पछिल्लो रिपोर्टअनुसार, एप्पल चीनको मोबाइल बजारमा १३.९ प्रतिशत हिस्सा मात्र राख्दै ९६ लाख मोबाइल बिक्रीमा सीमित रह्यो । एप्पल अहिले चीनको मोबाइल बजारमा पाँचौँ स्थानमा झरेको छ ।