बौद्ध भिक्षुहरूलाई आकर्षित गरी यौनसम्पर्क गर्ने र त्यस्तो सम्बन्धको तस्बिर तथा भिडियो बनाएर ‘ब्ल्याकमेलिङ’ गरी नगद असुल्ने गरेको आरोपमा थाइल्याण्डको प्रहरीले एक महिलालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रकरण यतिबेला चर्चामा छ ।
थाई प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी ‘मिस गाल्फ’ नाम दिइएको ती महिलाले कम्तिमा नौ जना बौद्ध भिक्षुहरूसँग यौनसम्पर्क गरेको र तीन वर्ष अवधिमा उनीहरूबाट लगभग १२ मिलियन डलर असुल गरेको जनाएको छ ।
प्रहरी अनुसन्धानकर्ताहरूले उक्त महिलाको घरमा खोजतलास गर्दा ८० हजारभन्दा बढी तस्बिर र भिडियोहरू फेला पारेका थिए, जुन तस्बिर र भिडियोहरू सम्बन्धित भिक्षुहरूलाई ब्ल्याकमेल गर्न प्रयोग गरिएको थियो ।
विगत केही वर्षयता थाइ भिक्षुहरूमाथि यौन अपराध र लागूपदार्थको तस्करीमा संलग्न भएको आरोप लाग्दै आएको परिवेशमा यो नयाँ काण्डले थाइल्याण्डमा अत्यन्त पवित्र मानिने बौद्ध संस्थालाई बेस्सरी हल्लाएको छ ।

थाइ प्रहरीले जनाएअनुसार यो मुद्दा पहिलो पटक गत जुन महिनामा प्रहरीको नोटिसमा आएको थियो । बीबीसीले उल्लेख गरेअनुसार जब एउटी महिलाले ब्ल्याकमेल गरेपछि बैंककका एक मठाधीशले अचानक भिक्षुको जीवन छोडेका थिए, सो प्रकरणलाई प्रहरीले नियालेको थियो । ‘मिस गोल्फ’ले मे २०२४ मा भिक्षुसँग ‘सम्बन्ध स्थापित’ गरेकी थिइन् । तिनले पछि आफू मठाधीश भिक्षुको बच्चाकी आमा भएको दाबी गरिन् र उनबाट ७० लाख भाटभन्दा बढी रकम मागेकी थिइन् । त्यसपछि थाइ प्रहरी प्रशासनले पत्ता लगायो कि अन्य भिक्षुहरूले पनि यस्तै तरिकाले ‘मिस गोल्फ’लाई पैसा ट्रान्सफर गरेका थिए ।
ती महिलाले भिक्षुहरूबाट प्राप्त सबै रकम बैंकबाट निकालेकी थिइन् भने अनलाइन जुवालगायत धन्दामा रकम प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ । ती महिलालाई ब्ल्याकमेलिङ, मनी लान्ड्रिङ र चोरीका सामानहरू जम्मा गरेको लगायतका अभियोगमा कारबाही अघि बढाइएको छ । थाइ प्रहरीले दुर्व्यवहारमा परेका भिक्षुहरूका लागि हेल्पलाइन स्थापना गरेको पनि जनाइएको छ ।
ज्ञातव्य छ, थाईल्याण्डका राजा वजिरालोङकोर्नले हालैमात्र ८१ जना भिक्षुहरूलाई उच्च उपाधिका साथ सम्मानित तुल्याएका थिए । थाईल्याण्डको ९० प्रतिशतभन्दा बढी जनसंख्याले आफूलाई बौद्ध मान्छन्, राम्रो कर्मको लागि अस्थायी रूपमा भिक्षु बन्छन् र भिक्षुहरूलाई यहाँ धेरै सम्मान दिइन्छ । तर, पछिल्लो घटनाले बौद्ध अनुयायीहरूलाई गहिरो चोट पुऱ्याएको छ ।
प्रतिक्रिया