अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थकहरू र बङ्गलादेशी सुरक्षा बलहरूबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको र धेरै घाइते भएको बंगलादेशका स्थानीय मिडियाले जनाएका छन् ।
गत वर्ष अगस्टमा हसिनाविरुद्धको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको नयाँ राजनीतिक पार्टीले हसिनाको पैतृक घर दक्षिणपश्चिमी गोपालगञ्ज जिल्ला र उनको अवामी लिग पार्टीको गढतर्फ पदयात्रा गर्ने घोषणा गरेपछि बुधबार (१६ जुलाई) बिहान हिंसा भड्किएको थियो । अधिकारीहरूले पछि जिल्लामा रातिको कर्फ्यू लगाएका थिए ।
एघार महिनाअघि हसिनाको निष्कासनपछि बङ्गलादेश अराजकता र अनियन्त्रित भिडको हिंसाले ग्रस्त भएको छ । मुलुकको अन्तरिम सरकार बिग्रँदै गएको सुरक्षा अवस्थालाई नियन्त्रणमा ल्याउन असफल भएसँगै बुधबारको आक्रमणले बंगलादेशमा पन्पिएको गहिरो विभाजनको अवस्थालाई उजागर गरेको छ ।
टेलिभिजन फुटेजले हसिनासमर्थक कार्यकर्ताहरूले लाठीले प्रहरीमाथि आक्रमण गरेको र विद्रोहको सम्झनामा नेसनल सिटिजन पार्टीका नेताहरू बोकेका करिब २० वटा गाडीमा आगो लगाएको देखाएको छ ।
पार्टीका नेताहरूले स्थानीय प्रहरी प्रमुखको कार्यालयमा शरण लिएका छन् । फुटेजमा शीर्ष नेताहरूलाई सैनिकहरूले सुरक्षाका लागि बख्तरबन्द गाडीमा लगेको देखाइएको थियो । तिनीहरू पछि सुरक्षा एस्कर्टहरूसँग छिमेकी जिल्लाका लागि प्रस्थान गरेका थिए ।
सरकारी अस्पतालका वरिष्ठ अधिकारी जिबितेश विश्वासले कम्तीमा तीन जनाको शव भित्र ल्याइएको पत्रकारलाई बताएका छन् भने देशको प्रमुख अङ्ग्रेजी भाषाको डेली स्टारले चार जनाको मृत्यु भएको जनाएको छ ।
अन्तरिम सरकारले विद्यार्थीहरूमाथि आक्रमण गर्नेहरू ‘दण्डविहीन’ नरहने बताएको छ र अन्तरिम नेता मुहम्मद युनुसको तर्फबाट जारी गरिएको विज्ञप्तिमा गोपालगञ्जमा भएको हिंसालाई ‘पूर्ण रूपमा अक्षम्य’ भनी वर्णन गरिएको छ ।
गत मे महिनामा अधिकारीहरूले प्रतिबन्ध लगाएको हसिनाको आवामी लिग पार्टीले सामाजिक सञ्जाल एक्समा धेरै वक्तव्यहरू जारी गरेर हिंसाको निन्दा गरेको छ र मृत्यु तथा घाइतेहरूका लागि अन्तरिम सरकारलाई दोष दिएको छ ।
एक आवामी वक्तव्यमा भनिएको छ, ‘हामी विश्वलाई सुरक्षा संयन्त्रको यो स्पष्ट दुरुपयोगलाई ध्यानमा राख्न आग्रह गर्छौं ।’ विज्ञप्तिमा ‘असहमतहरू’ विरुद्ध भीड हिंसाको प्रयोग गरेको आरोप लगाइएको छ ।
झडपले राष्ट्रिय मेलमिलापको आशालाई कम गरेको भन्दै अन्तरिम सरकारका आलोचकहरूले बढ्दो ध्रुवीकरणको चेतावनी दिएका छन् । यद्यपि युनुसको प्रशासनले हसिनापछिको युगमा व्यवस्था ल्याउने बाचा गरेको छ । आलोचकहरूले अवस्था सुधार नभए लोकतन्त्रमा शान्तिपूर्ण सङ्क्रमण खतरामा पर्ने बताएका छन् ।
नोबेल शान्ति पुरस्कार विजेता युनुसले हसिना पदच्यूत भएर भारत भागेको तीन दिनपछि देशको जिम्मेवारी लिएका थिए र व्यवस्था पुनःस्थापना गर्ने वाचा गरेका थिए । उनले आगामी वर्षको अप्रिलमा नयाँ चुनाव हुने वाचा पनि गरेका छन् ।
हसिनाले अहिले मानवताविरुद्धको अपराधको आरोपको सामना गरिरहेकी छन् भने सरकारले उनलाई भारतबाट सुपुर्दगी गर्न खोजिरहेको छ । भारतले बङ्गलादेशको अनुरोधप्रति कुनै प्रतिक्रिया दिएको छैन ।
गोपालगञ्ज राजनीतिक रूपमा संवेदनशील जिल्ला हो । हसिना बुबाको समाधि त्यहाँ अवस्थित छ । देशको स्वतन्त्रता नेता शेख मुजीबुर रहमानलाई सन् १९७५ मा सैन्य कूमा उनको परिवारका अधिकांश सदस्यसँगै हत्या भएपछि त्यहाँ गाडिएको थियो ।
नेसनल सिटिजन पार्टीले बङ्गलादेशी राजनीतिमा आफूलाई नयाँ शक्तिका रूपमा स्थापित गर्ने अभियानको एक हिस्साका रूपमा सबै जिल्लामा हुने भन्दै महिनाको सुरुमा आफ्नो ‘राष्ट्र पुनर्निर्माणका लागि जुलाई मार्च’ सुरु गरेको थियो ।
प्रतिक्रिया