वामदेवले भने- ‘म लागेपछि समाजवाद निर्माण हुन्छ’

वामदेवले भने- ‘म लागेपछि समाजवाद निर्माण हुन्छ’


माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा भएको छ । शुक्रबार (२ साउन) राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा समारोहबीच दुई पक्ष एक भएका हुन् ।

नेकपा (एस)मा विलय हुने क्रममा नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सय वर्ष सक्रिय जीवन बाँच्ने आफ्नो अभिलाषा सुनाउँदै आफू अझै पनि तागतिलो रहेको अभिव्यक्ति दिए । उनले भने, ‘म आन्दोलनको व्यक्ति हुँ, नेता हुँ । मैले जिम्मा लिएको आन्दोलन कहिल्यै असफल भएको छैन, सफलता मात्रै मिलेको छ । आवश्यकता पर्‍यो भने मेरा यी दर्बिला हातहरू हतियारका रूपमा प्रयोग हुन सक्छन् ।’

नेता गौतमले आफू चार वर्षअघि नै नेकपा (एस)मा आउन सकेको भए यतिबेलासम्म समाजवादको ढोका खुलिसक्ने जिकिर गर्दै भने- ‘हाम्रा पुर्खाले यो देश हामीलाई समाजवाद निर्माणका लागि सुम्पेको हो । हामी त्यसको निम्ति तयार हुनुपर्छ, त्यसकै निम्ति लाग्नु पर्दछ, म लागेपछि समाजवाद निर्माण हुन्छ ।’

मुलुकमा समाजवाद निर्माणका लागि आफू समाहित भएको उल्लेख गर्दै उनले भने, ‘मेरो जीवनमा समाजवाद देख्न पाएँ र मैले नै निर्माण गरेर समाजवादी पद्धतिमा सामेल हुन पाएँ भने साँच्चिकै यो जीवन पूर्ण रूपमा सफल भएको ठान्नेछु ।’

पार्टी बरियतामा तेस्रो स्थान पाएका गौतमले नेकपा (एस)मा जोडिन पाउँदा आफू ज्यादै खुसी भएको पनि बताए ।

यस्तै, पार्टीमा ‘सम्मानित नेता’को ओहदा दिइएका पूर्वप्रधानमन्त्री झलनाथ खनालले निरङ्कुशताविरुद्ध सङ्घर्ष गरेका वामपन्थी शक्तिबीचको एकता मुलुकको आवश्यकता भएको बताउँदै त्यसको सुरुआत आजको कार्यक्रमबाट भएको उल्लेख गरे । उनले मुलुकमा सबै वामपन्थी शक्तिबीच ध्रुवीकरणको विकास हुँदै जाँदा एमालेसँग पनि दीर्घकालमा एकताको सम्भावना र लक्ष्य राख्नुपर्ने धारणा राखे ।

यसैगरी, नेकपा (एस)का अध्यक्ष माधव नेपालले मुलुकको आर्थिक विकास तथा जनताको समृद्धिका लागि सबै क्रान्तिकारी, वामपन्थी शक्तिलाई बलियो बनाउन विभिन्न रूपमा छरिएका कम्युनिष्ट समूहलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए । पार्टी बलियो बनाउन समान नीति र उद्देश्य बोकेका अरू दलसँगको एकता र सहकार्य अर्थपूर्ण हुने उल्लेख गर्दै उनले राष्ट्रिय एकता अभियानसँग गरिएको एकताले पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

उनले एमालेका नेताहरूबाट आएका अभिव्यक्तिका कारण तत्काल उनीहरूसँग एकताको सम्भावना नरहेको बताउँदै त्यहाँभित्रको सैद्धान्तिक तथा वैचारिक विचलन बाधक रहेको तर्क गरे ।