कछुवा जत्तिको आयु नपाएको मनुष्यको मपाईंत्व हेरि नसक्नुको ! चक्रवर्ती सिकन्दरको हातहरू लास बाकसबाट बाहिर किन निकालियो, बुझ्न आवश्यक छ । नश्लताको बिख कसले छऱ्या हो ? राम्रो भएन । परिवार, समाज र देश विभाजितिँदो । मुलुकमा राजनीतिक दुरावस्था नहुँदो हो त को पो रहरले मुग्लान भास्सिँदो हो ?!
✍ बलराम उपाध्याय सिलवाल
श्री गणेशाय नमोनम:। श्री सरस्वतै नमोनम:। साहित्यमा प्रत्येक पाठकले आ-आफ्नो कथाव्यथा प्रतिबिम्बित भएको पाउँछ । साहित्यले तमाम जनताको सामाजिक, मानसिक र आर्थिक रुपान्तरण गर्ने हो अन्यथा त्यो साहित्य होओइन, रञ्जना मात्र हो । साहित्य त नवरसमय हुनुपर्छ न कि स्याकरिन जस्तो । वास्तविक साहित्यकार सत्ता विरोधी हुन्छ । उसले सत्ताको स्तुति गाउन्न ; अमरत्व प्राप्त गर्छ । भाट साहित्यकारले सत्ताको भजन गाउँछ; क्षणिक लाभ लिन्छ औ अपहत्ते गर्छ । रसियाकै इतिहास केलाउँन – सत्ता विरोधी भएकैले अलेक्जेन्डर सोल्झेत्सिन निर्वासित हुनुपरो । भ्लादिमिर मायाकोभ्स्की र सेर्गेई यसेनिनले सत्ताको स्तुति गाएकाले आत्महत्या गरेर मर्नुपरो । क्षणिक लाभार्थ स्तुतिगान गर्नुलाई कदापि मुनासिव मान्न सकोइन ।
राजनीति राजनीति जस्तो, नेता नेता जस्तो भइदिए पो मुलुकले आफूमा सकारात्मक कायाकल्प ल्याउन सक्थ्यो । यहाँ त नेता नै भ्रष्टाचारी, राजनीति शौचालय झैं डुङ्डुङ्ती गन्हाउँदो । यसलाई सङ्ल्याउने कसले ? स्वतन्त्रताको नाउँमा मान्छे छेक्रायो । अनुज्ञाकारी पत्नी/सन्तान; अवज्ञाकारी मनुष्यहरू । अनुशासन छैन; कमसल संस्कारको थालनी । सन् २०३८ को महाप्रलय कुर्नु छैन; लघुप्रलयले परिवार, समाज र देश विक्षिप्तिंदो । अर्कोलाई तनाउ नदिने समाज हुँदो हो त जीवन कत्ति जीवनमय हुँदो । फगत् परिकल्पना; मनको लड्डु घ्यूसित खानु । मृत्युबोध छैन; मनुवा पाप गरेको गऱ्यै ।
अर्काको निजी जिन्दगानीको उत्खनन नगरेकै राम्रो । आफूलाई सुधार्ने आफूले हो; अर्कोले होइन । ब्रम्हचित्तले गुणदोष निरुपण गर्ने । कान छाम्ने हो; कौवाको पछि दगुर्ने होइन । सित्तैमा पाइयो भनेर नगदगदाउँदा राम्रो । यसको ठुलो मूल्य चुकाउनुपर्ने हुन्छ । मुलुकले सित्तैमा (नेताले रकम हजम गरेको नि हुनसक्छ है) सन्धिहरू पायो; जमिन र नदीनाला गुमायो । अफ्रिकाली स्वतन्त्रता गुम्यो । क्लियोपेट्राको कौमार्य लुटियो । बोक्रे ज्ञान बहिष्कार, गुदी ज्ञान आविष्कार । अन्तिम सत्याभासले मान्छे सुध्रिँदो परन्तु जिराहा होंका गर्दो ! चेखभको कथा पो कथा । जिन्दगीको रऊस लिने भन्दैमा नव-चार्वाक त हुनु भएन नि । सन्तोषम् परम् सुखम् ।
अत्याचारी, आततायी र झेलीको अवसान निश्चित । दुर्योधन, दुशासन, रावण, कंस, शकुनी, लुई सोह्रौ, मेरी एन्टोनियट, इदी अमिन र क्रमवेल आदिको हविगत के भो ? इतिहास त बिर्सनु भएन नि नत्र त यो दोहोरिन्छ है ।
वार्तालापको सन्दर्भमा मेरो बुबाको मित्र हरिबाबुले मसित भन्नुभएको थियो, ‘खैरेनीमा मेरो २५ बिघा जग्गा थियो ।’ किन बेच्नुभएको भन्ने मेरो सवालको जवाफमा उहाँले भन्नुभयो, ‘बाबु, एक जनी आईमाईले फोहोर शब्द बोलेको सुनेसि यो त सोसायटी नभएको ठाउँ रहेछ; छोराछोरी बिग्रन्छन् भन्ठानेर त्यहाँको बेचबाच गरेर ललितपुरमा घरघडेरी जोडें ।’ यो परिघटना २०२५ तिर घटेको रहेछ ।
कछुवा जत्तिको आयु नपाएको मनुष्यको मपाईंत्व हेरि नसक्नुको ! चक्रवर्ती सिकन्दरको हातहरू लास बाकसबाट बाहिर किन निकालियो, बुझ्न आवश्यक छ । नश्लताको बिख कसले छऱ्या हो ? राम्रो भएन । परिवार, समाज र देश विभाजितिँदो । मुलुकमा राजनीतिक दुरावस्था नहुँदो हो त को पो रहरले मुग्लान भास्सिँदो हो ?! जे होस्, नेपालीले जहाँ भए नि आफ्नो जन्मभूमि, परिवार, धर्म, संस्कृति, रीतिरिवाज, परम्परा, भेषभुषा, संस्कार र चाडपर्व नबिर्सिऊन् र भूमिको कल्याण चिताऊन् ।
सरदार वल्लभ भाइ पटेलले वकालत गर्दै गर्दा एक जना मान्छेले उनको हातमा कागतको चिर्को थमाइदियो । उनले त्यो चिर्को पढे; गोजीमा घुसारे अनि वकालत गर्दै रहे । वकालत सकेसि चिर्को ल्याउने मान्छेले विस्मितिएर सोध्यो, ‘पत्नीको निधन भएको छ; तपाईंचैं वकालत गर्दै।’ प्रत्युत्तरमा पटेलले भने, ‘पत्नीको देहान्त त भई नै सक्यो; अब अर्को मान्छेलाई ( क्रान्तिकारी ) फाँसीको तख्ता चढाउनु छ र ?’ यो जवाफ सुनेर त्यो मान्छे नाजवाफ भो ।
सामाजिक रुपान्तरणार्थ सिर्जित प्रस्तुत लेख कसैप्रति दुराग्रहपूर्ण छैन । नेपालीजन सभ्य , सुसंस्कृत , इमान्दार , मेहेनती र प्रगतिशील परम्परावादी होऊन्- यही उत्कट चाहना । बाउसे सकियो । आजलाई मैजारो । अस्तु !
प्रतिक्रिया