दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोगको मुद्दा दर्ता

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोगको मुद्दा दर्ता


दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोग र सरकारी काममा अवरोध पुर्‍याएको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

उनले सन् २०२४ को डिसेम्बर ३ मा देशमा मार्शल ल (सैनिक शासन) घोषणा गर्दै संसदमा सेना पठाएका थिए, जसले देशमा गम्भीर राजनीतिक संकट निम्त्याएको थियो ।

उनलाई जनवरी महिनामा पक्राउ गरिएको थियो, तर कानुनी प्रक्रिया अनुसार मार्च महिनामा अस्थायी रूपमा रिहा गरिएको थियो । पछिल्लो साता उनलाई सबुत नष्ट गर्ने सम्भावना देखिएकाले पुनः पक्राउ गरिएको हो ।

अनुसन्धानकर्ताहरूका अनुसार युनले प्रधानमन्त्री र रक्षा मन्त्रीले समर्थन गरेको झूटो कागज तयार पारेका थिए र त्यसलाई पछि नष्ट गर्न खोजिएको थियो । साथै, मार्शल ल घोषणा गर्नुपर्ने कानुनी प्रक्रिया उनले पूरा गरेका थिएनन् ।

अदालतमा सुनुवाइका क्रममा युनले आफ्नो स्वास्थ्य अवस्था कमजोर भएको र शरीरमा कमजोरी रहेको बताउँदै रिहाइको माग गरेका भएपनि जुलाई १८ मा अदालतले उनको अनुरोध अस्वीकार गरेको छ ।

हाल उनलाई तापक्रम निकै बढेको बेलामा, पंखा मात्र भएको तर एयर कन्डिसनर नभएको कोठामा एक्लै राखिएको छ ।