तिब्बतमा ‘मेगा ड्याम’ निर्माण सुरु, भारत र बङ्गलादेशका लाखौं मानिसमा गम्भीर प्रभाव पर्नसक्ने

तिब्बतमा ‘मेगा ड्याम’ निर्माण सुरु, भारत र बङ्गलादेशका लाखौं मानिसमा गम्भीर प्रभाव पर्नसक्ने


चीनले तिब्बत र भारत भएर बग्ने एक नदीमा शनिबारदेखि ठूलो बाँध निर्माण सुरु गरेको छ । तिब्बतमा यार्लुङ साङ्पो भनिने उक्त नदी भारतमा ब्रह्मपुत्रको नामले चिनिन्छ । चीनको कार्बन तटस्थता लक्ष्य र तिब्बत क्षेत्रमा आर्थिक लक्ष्यसँग जोड्ने यो परियोजनालाई बेइजिङले गत डिसेम्बरमा अनुमोदन गरेको थियो ।

दक्षिणपूर्वी तिब्बतको निङ्चीमा प्रधानमन्त्री ली कियाङको उपस्थितिमा शिलान्यास समारोह भएपछि सम्बद्ध अधिकारीहरूले उक्त परियोजना अन्तर्गत उत्पादन हुने विद्युतबाट तिब्बतमा विद्युतको मागलाई सम्बोधन गरिने जनाएका छन् । उत्पादित बिजुली मुख्यतया खपतका लागि अन्य क्षेत्रमा प्रवाह गरिनेछ भने तिब्बतको स्थानीय विद्युत् आवश्यकतालाई पनि पूरा गरिने बताइएको छ ।

यो बाँध मध्य चीनको याङत्से नदीमा रहेको थ्री गर्जेज बाँधभन्दा ठूलो हुनेछ । बाँध निर्माणका कारण रोकिने पानीका कारण भारत र बङ्गलादेशका लाखौं मानिसमा गम्भीर प्रभाव पर्नसक्ने आँकलन गरिएको छ ।

यस परियोजनामा पाँच वटा जलविद्युत केन्द्रहरु निर्माण हुनेछन्, जसको कुल लगानी लगभग १६७.१ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ ।

गत जनवरीमा भारतले तिब्बतमा यस परियोजनाका बारेमा चीनसँग चासो व्यक्त गरेको र ‘भारतीय हितको रक्षाका लागि आवश्यक कदम चाल्ने’ बताएको थियो । भारतको विदेश मन्त्रालयले भनेको छ, ‘चीनलाई यो सुनिश्चित गर्न आग्रह गरिएको छ कि ब्रह्मपुत्रको तल्लो तटीय राज्यहरूको हितमाथिको गतिविधिले क्षति नपुऱ्याओस् ।’

गत डिसेम्बरमा बेइजिङको विदेश मन्त्रालयले यो परियोजनाले तल्लो तटीय क्षेत्रमा कुनै नकारात्मक प्रभाव नपार्ने बताएको थियो । साथै, चीनले नदीको तल्लो भेगका देशहरूसँग पनि सम्पर्क कायम राख्ने बताएको थियो ।

पर्यावरणविद्हरूले पर्यावरणीय दृष्टिले संवेदनशील तिब्बती पठारमा यस्ता ठूला परियोजनाहरूको अपरिवर्तनीय प्रभावबारे पनि चेतावनी दिएका छन् ।

ज्ञातव्य छ, छिमेकी तथा प्रतिद्वन्द्वी एसियाली शक्ति भारत र चीनको हजारौं किलोमिटर लामो सीमा साझा रहेको छ ।