दक्षिण कोरियामा भारी वर्षाका कारण १४ जनाको मृत्यु, १२ बेपत्ता

दक्षिण कोरियामा भारी वर्षाका कारण १४ जनाको मृत्यु, १२ बेपत्ता


दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाका कारण १४ जनाको मृत्यु तथा १२ जना बेपत्ता भएका छन् ।

कोरियाली गृह तथा सुरक्षा मन्त्रालयका अनुसार आइतबार भारी वर्षाका कारण घर भत्किँदा एक जनाको मृत्यु भयो भने सियोलको उत्तरपूर्वमा पर्ने गाप्योङ शहरमा खोलाले बगाएर अर्का एक जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार शनिबार भारी वर्षाले पहिरो, घर भत्किने र अकस्मात् बाढी ल्याएपछि दक्षिणी सहर सान्चेओङमा आठ जनाको मृत्यु भएको र ६ जना बेपत्ता भएको रिपोर्ट गरिएको छ । बताइएअनुसार गाप्योङ र दक्षिणी शहर ग्वाङ्जुमा ६ जना अझै बेपत्ता छन् ।

गत हप्ताको सुरुमा सियोलको दक्षिणमा ओसानमा भारी वर्षाका क्रममा ओभरपासको रिटेनिङ पर्खाल ढलेपछि डुबानमा परेको कारमा तीन जना मृत फेला परेका थिए । उनीहरूको कार माटो र कङ्क्रिटले पुरिएपछि कार चालकको पनि मृत्यु भएको थियो ।

स्थानीय समयानुसार आइतबार बिहान ९ बजेसम्म करिब तीन हजार आठ सय ४० मानिस आफ्नो घरबाट विस्थापित भएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । आइतबार दक्षिण कोरियाको धेरैजसो भागमा वर्षा रोकिएको छ भने देशभरि भारी वर्षाका चेतावनीहरू हटाइएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

मन्त्रालयको प्रतिवेदन अनुसार बुधबारदेखि दक्षिणी क्षेत्रहरूमा करिब ६ सयदेखि आठ सय मिलिमिटर (२४ देखि ३१ इन्च)सम्म वर्षा भएको छ ।