कांग्रेस संस्थापन पक्षका शीर्ष ६ नेताको चाक्सीबारीमा जमघट

कांग्रेस संस्थापन पक्षका शीर्ष ६ नेताको चाक्सीबारीमा जमघट


नेपाली कांग्रेसका संस्थापन पक्षीय केही नेताहरूका बीच नेता प्रकाशमान सिंहको निवासमा विशेष भेटघाट भएको छ । पार्टीको आगामी १५औँ महाधिवेशनमाथि केन्द्रीत रहेरसभापति शेरबहादुर देउवाबाहेक उनी पक्षधर अन्य ६ जना नेता सोमबार (५ साउन) चाक्सीबारीमा भेला भएका हुन् ।

कांग्रेस संस्थापन पक्षका शीर्ष तहका ६ नेताहरु उपप्रधान एवम् शहरी बिकासमन्त्रीसमेत रहेका प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशरण महत, विजयकुमार गच्छदार र विमलेन्द्र निधिबीच भेटघाट र छलफल भएको हो ।

स्रोतका अनुसार आगामी महाधिवेशनमा आफूभित्रबाटै उत्तराधिकारी छान्नुपर्ने भन्दै दबाब बढाउँदै आएका उल्लिखित नेताहरुबीच संस्थापन इतर नेता डा. शेखर कोइरालाका पछिल्ला गतिविधिबारे विशेष चासोका साथ छलफल भएको थियो । नेता डा. कोइरालाद्वारा पछिल्ला दिन सत्ता गठबन्धनमै फेरबदल ल्याउने र माओवादीलगायतका दलहरुको साथ लिएर आफै प्रधानमन्त्री बन्ने गतिविधि जारी रहेको चर्चाले राजनीतिक बजार तताएको छ ।

कांग्रेस संस्थापन पक्षका उल्लिखित नेताहरूले शेखर कोइरालालाई कसरी कमजोर पार्ने भन्नेदेखि आगामी नेतृत्व हत्याउनका लागि सभापति शेरबहादुर देउवालाई कसरी आफ्नो प्रभावमा ल्याउने भन्ने सवालमा छलफल गरेको स्रोतले जनाएको छ ।