म विद्रोही भएर बाँचिरहेको छु

म विद्रोही भएर बाँचिरहेको छु



क्याक्टस
गमला

मनिप्लाण्ट
सजाउने उखरमाउलोको साथ
कयौँ सपना कोरल्न चाहने
एउटी कुखुरी जस्तै
कोलुङ्गोहरूमा कैद भुक्तान गरिरहेको
कैदी जस्तो मान्छे
आश्चर्यको तन्द्राबाट ब्यूँझिएर
छटपटाइरहेको छु
मभित्र म आफै
भक्भकी उम्लिरहेको छु
सायद, पोखिन बाँकी छ ।


क्याक्टसको खोजीमा
क्याक्टसको काँडाभित्रै अल्झिएर
जीवन खोजिबसेको छु
गमलाको खोजिमा
टुक्रा–टुक्रा चोइटिएर
भाग्य फुटेजस्तो
विक्षिप्त छु
मनिप्लाण्टको खोजिमा
त्यसकै लहराभित्र जेलिएको छु
बेरिएको छु
कयौँ पटक खडेरीमा
म झ्याउरिएको छु ।

क्याक्टस
गमला

मनिप्लाण्ट खोजेको देखेर
मेरो इच्छाप्रति असहमति जनाउँदै
वुद्ध भन्नुहुन्छ
तिमीले बुद्धत्व प्राप्त गर्नुछ
मोक्षप्राप्ति तिम्रो अभीष्ट हुनुपर्छ
क्याक्टस
गमला र
मनिप्लाण्ट
तिम्रो जीवनको पर्याय हो र ?

बुद्ध
जसलाई म्युजियमभित्र थुनेर राखिएको छ
उनैको मुक्तिको खातिर
एक हातमा शान्तिको झण्डा फहराइरहेको छु
अर्को हातमा युद्धको झण्डा हल्लाइरहेको छु
परिभाषा नमिलेर हुन सक्छ
म पुरानो कोलम्बस हैन
नयाँ कोलम्बसको नाममा
त्यही अम्रिकाबाटै
स्कट र प्याट्रोयाटिकको यात्रामा दगुरिरहेको छु
यू.एन.ओ. मौन छ
मौनताको विरुद्ध आवाज उठाउँदै
म विद्रोही भएर बाँचिरहेको छु ।

  • सुन्दरहरैँचा-६, दुलारी, मोरङ
  • [email protected]