‘कुलिङ पिरियड’ हटाउन खोजे सरकारबारे सोच्न बाध्य हुन्छौँ : महामन्त्री शर्मा

‘कुलिङ पिरियड’ हटाउन खोजे सरकारबारे सोच्न बाध्य हुन्छौँ : महामन्त्री शर्मा


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामति सेवा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी राज्य व्यवस्था समितिको सिफारिसविरुद्ध काम भए कांग्रेसले सरकारलाई बचाइनराख्ने बताएका छन् ।

बिपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको विचार गोष्ठी र नेपाल तरुण दल मध्यपुरथिमि नगरसमितिको अधिवेशन उद्घाटन कार्यक्रममा उनले कुलिङ पिरियड हटाउने प्रयास गरे वा समितिको सिफारिस विपरीत गर्न खोजिए आफूहरू सरकारबारे सोच्न बाध्य हुने धाारणा राखे ।

महामन्त्री शर्माले कुलिङ पिरियडका विषयमा जसले गलत गरे पनि कारबाही हुने उल्लेख गर्दै भने, “कुलिङ पिरियडसम्बन्ध ज–जसले गलत गर्नुभएको छ, ती सबैलाई कारबाही हुन्छ र कुलिङ पिरियड दुई वर्षको ठाउँमा साढे दुई वर्ष होला तर हट्दैन, राष्ट्रियसभाबाट यसलाई समाधान गरिन्छ । कुलिङ पिरियडलाई प्रधानमन्त्रीको निर्देशनमा हटाउने प्रयास भएमा वा समितिबाट गरेको सिफारिसविरुद्ध काम भए कांग्रेसले यो सरकारलाई बचाइ राख्दैन ।”

उनले भूमि विधेयकको विषयमा छलफल चलिरहेकाले यसलाई समितिमा लगेर व्यापक सहमतिका साथ अगाडि बढाइने बताए । महामन्त्री शर्माले अझै पनि देश बिपी कोइरालाको नीतिमा अगाडि बढेको भन्दै उनले कल्पना गरेअनुसारको विकासका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । ‘देश अहिले पनि बिपीले देखाएको बाटोमै छ, उहाँलाई अन्य दल, राजतन्त्र र स्वयम् कांग्रेसले राम्रोसँग बुझ्न सकेको भए देश धेरै अगाडि हुन्थ्यो । दशवर्षे सशस्त्र द्वन्द्व, राजतन्त्रको विदाइ, देशका अगाडि विविध समस्या यो ढङ्गले आउने थिएनन्’, महामन्त्री शर्माले बताए ।

कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले विभिन्न खालका भ्रम र अफवाहलगायत चुनौतीलाई चिर्दै एक जुट भएर २०८४ को चुनावमा जानुपर्ने बताउनुभयो । उहाँले स्थानीय तथा केन्द्रमा कांग्रेसको बहुमतको सरकार बनाउने लक्ष्य साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस मध्यपुरथिमि सभापति हरिदास प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस भक्तपुरका पूर्वसभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस मध्यपुरथिमि उपसभापति अनिल श्रेष्ठलगायतले धारणा राखेका थिए ।

photo: rss