कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ स्थित सुक्खा बन्दरगाह निर्माण सुरू भएको छ । मंगलबार नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल र सुक्खा बन्दरगाह निर्माण कम्पनी कम्ट कन्ट्रक्सनका सञ्चालक सुनिल शर्माले संयुक्त रूपमा निर्माण कार्यको शुभारम्भ गरे ।
समितिका कार्यकारी निर्देशक गजुरेलले बन्दरगाह निर्माणमास्थलका रुख कटानको काम सम्पन्न भइसकेपछि भारतीय निर्माण कम्पनीलाई काम गर्नका लागि मन्त्रालयमार्फत पत्राचार भइसकेको जानकारी दिए । सोहीअनुसार भारतीय निर्माण कम्पनीले आजदेखि बन्दरगाह निर्माणको प्रारम्भिक काम सुरू गरेको छ । ‘निर्माण कार्यको प्रारम्भिक काम सुरू भएको छ, पहिलो चरणमा यहाँ फिलिङ, पर्खाल निर्माण र निर्माणको लागि आवश्यक सामग्री ल्याउने काम गर्नुहुन्छ’, उनले भने- ‘यसको विधिवत् रूपमा दुवै देशका प्रधानमन्त्रीहरूले शिलान्यास गर्नुहुन्छ’, निर्माण सुरू भएकाले चाँडै बन्दरगाह निर्माण हुने उनले बताए ।
कार्यकारी निर्देशक गजुरेलका अनुसार सुदूरपश्चिम मात्रै नभएर नेपालकै आर्थिक विकासमा टेवा पुग्नेछ । उनले भनेका छन्, ‘यो व्यापारिक पूर्वाधारले भारतबाट आयात मात्रै नभएर निर्यात गर्नेगरी उद्योगधन्दा खेल्नुपर्छ ।’ बन्दरगाह निर्माणपछि तेस्रो मुलुकसँग निर्यातको ढोका खुल्नेछ । बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका-१ स्थित गौरीशङ्कर सामुदायिक वनमा एक हजार ७०५ रुख कटानी भएका छन् ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुसार भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रूपैयाँँ लागतमा ठेक्का सम्झौता गरेको छ ।
विसं २०६४ मा सरकारले कञ्चनपुरको दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाह निर्माण गर्ने घोषणाले सुदूरपश्चिमका व्यवसायीले तेस्रो मुलुकसँग व्यापारको ढोका खुल्ने अपेक्षा गरेका थिए । दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बने सुदूरपश्चिम प्रदेश विकासको कोसेढुङ्गा हुने सपना देखेका सुदूरपश्चिमवासीले १८ वर्षपछि दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने सुनिश्चितता पाएका छन् ।
‘दुई घण्टाको दूरीमा रहेको भारतको सबैभन्दा ठूलो औद्योगिक क्षेत्रबाट वस्तु आयात गर्दा ३०० किलोमिटर घुमाएर यहाँ ल्याउनपर्ने बाध्यता जसकारण यातायातमै महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ’, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले भनेका छन्, ‘बन्दरगाह निर्माणपछि सुदूरपश्चिम मात्रै नभई मुलुककै आर्थिक समृद्धि हासिल गर्न ठूलो सहयोग पुग्छ ।’ अहिले रूपैडियासँगै भैरहवा र वीरगञ्ज नाका प्रयोग गरेर भारतको रूद्रपुर औद्योगिक क्षेत्रमा आयात/निर्यात हुने गरेको छ । उनले भारतको राजधानी नयाँदिल्ली र उत्तराखण्डस्थित औद्योगिक क्षेत्र रूद्रपुरसम्म सहज पहुँच हुने हुँदा सुदूरपश्चिमको विकासमा ठूलो योगदान मिल्ने धारणा राखे।
बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२ दशमलव ३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवनललगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँचमार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ । भारत बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ । सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया