एमाले केन्द्रीय कमिटीको बैठक : ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमा हटाइयो

एमाले केन्द्रीय कमिटीको बैठक : ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमा हटाइयो


नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई हटाएर ओलीलाई पार्टी अध्यक्ष बन्ने बाटो खुला गरिदिएको छ । सो दलको गएराति सम्पन्न केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । आगामी भदौमा हुने एमालेको विधान अधिवेशनले पास गरेपछि यस निर्णयले वैधता पाउने छ ।

यस्तै, बैठकले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष पनि निकालेको छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको कार्यकर्ता र नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष बैठकले निकालेको हो ।

बैठकपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख गौतमले पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति सम्मान रहेको उल्लेख गर्दै भने, ‘पूर्वराष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, देशको अभिभावक हो, यस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार हुँदैन । यसले संविधान, मर्म र भावनाविपरीत हुन्छ भन्ने केन्द्रीय कमिटिको निष्कर्ष निकालेको छ ।’

पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने निर्णय गरेपछि सो विषयमा बहस सुरु भएको छ भने केन्द्रीय कमिटीको बैठकले आगामी अधिवेशनबाट पनि वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्षमा निरन्तरता दिने मार्ग अवलम्बन गरेको छ ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा आउन नदिने निर्णयको विपक्षमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले असहमति जनाएका थिए ।

photo: rss