पूर्व राष्ट्रपति विद्या भण्डारीका सुपुत्री उषाकिरणले आफ्नी आमाको पार्टी सदस्यता नवीकरण नगर्ने एमाले केन्द्रिय समितिको निर्णयबाट अचम्मित नभएको टिप्पणी गरेकी छिन् ।
मंगलबार सम्पन्न नेकपा (एमाले) केन्द्रिय समितिको बैठकले यसअघि नै नवीकरण भइसकेको विद्या भण्डारीको सदस्यता रोक्ने निर्णय गरेपछि उनले सामाजिक सञ्जालबाट यस्तो टिप्पणी गरेकी हुन् ।
उषाकिरणले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ, तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र, निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट मचाहिँ अचम्मित छैन । म खुसी छु कि यो खुला रूपमा बाहिर आयो ।’
‘अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग ! मलाई उहिले-उहिले लाग्थ्यो किन उहाँको परिवार नेकपा एमालेमा नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुँदैन ? हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैं देखिनेगरि पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोहीअनुरुप कोशिश गरियो’, उनी अगाडि लेख्छिन्- ‘तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन् । र, नैतिक समर्थन खोज्दैनन् पनि । यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो, त्यसकारण यो प्रकरणलाई धन्यवाद !’
प्रतिक्रिया