राष्ट्र पुनर्निर्माणको पुकार : अब उज्यालोतर्फको यात्रा शुरू गरौँ

राष्ट्र पुनर्निर्माणको पुकार : अब उज्यालोतर्फको यात्रा शुरू गरौँ


राजनीतिक दृष्टिले यतिबेला हामी एक यस्तो मोडमा छौँ जहाँ राष्ट्रको अस्तित्व, जनताको आत्मसम्मान र सभ्यताको भविष्य प्रश्नवाचक बनेको छ । भोगिएको समयको अनुभवले अब हामीलाई चेताउनी दिँदैछ- अब पनि मौन बस्यौँ भने हाम्रो इतिहास, अस्मिता र भविष्य सदाका लागि पराधीनताको गर्तमा विलीन हुनेछ ।

अबको युग मौलिक सनातन बौद्ध किराँत राष्ट्रको पुनर्संरचनाको युग हो । जहाँ अखण्डित सार्वभौमिकता केवल भौगोलिक सीमामा सीमित हुँदैन, त्यो हाम्रो मूल्य, आस्था, जीवनशैली र ज्ञान परम्पराको रक्षा र पुनरुत्थानमा आधारित हुन्छ ।

हामी एक यस्तो अभिभावकीय राज्यप्रणालीको परिकल्पना गर्दैछौँ, जहाँ राज्य केवल कर उठाउने र आदेश दिने संयन्त्र नहोस्, बरु जनताको सुख-दुःख, जीवन-अस्तित्व र संस्कृति सम्हाल्ने अभिभावक बनोस् ।

हाम्रो सपना-हाम्रो प्रतिबद्धता

मौलिक धर्म, संस्कृति, इतिहास र सभ्यताको संरक्षण : विदेशी विचारधाराको अन्धानुकरणले हामीलाई हाम्रो जराबाट टाढा लग्यो । अब हामी मौलिकतातर्फ फर्किन्छौँ- हाम्रो नैतिकता, हाम्रो जातीय एवम् धार्मिक सहिष्णुता र हाम्रो बहुल सांस्कृतिक गर्वको पुनर्जागरण हुनेछ ।

गैरजातिवादी अवधारणाको कार्यान्वयन : अब कुनै जात, वर्ग वा समुदायको शोषण सह्य छैन । सबै जात, धर्म, संस्कृति समान रूपमा राष्ट्र निर्माणका हिस्सा हुन्- समान अधिकार, समान कर्तव्य ।

समन्वयकारी राजनीतिक प्रणालीको स्थापना : जनता, राज्यसत्ता र राजनीतिक दलबीचको स्वस्थ समन्वयले मात्र स्थिरता सम्भव हुन्छ । सत्तालिप्सा होइन, सेवा भावको राजनीति चाहिन्छ ।

सबल राष्ट्रिय रक्षा संरचना : अब सेनालाई राष्ट्रको अस्मिता र आपतमा जनताको रक्षाकवच बनाइनुपर्छ । सेना जनमैत्री, प्राविधिक र पेशागत रुपमा सबल हुनुपर्छ ।

राजनीतिक संगठनको पुनर्परिभाषा : विद्यार्थी, शिक्षक, कर्मचारी, चिकित्सकहरू राष्ट्रका प्राविधिक मेरुदण्ड हुन् । उनीहरूलाई दलको होइन, देशको निष्ठामा संगठित गर्नुपर्छ । राजनीतिक रंगरूट होइन, सेवक बन्ने वातावरण निर्माण गर्नुपर्छ ।

ट्रेड युनियनको व्यवस्थापन : अब श्रमिक आन्दोलन स्वाभाविक हो, तर ट्रेड युनियनिज्मको नाममा ठगी, धम्की र दलाली अन्त्य हुनुपर्छ । श्रमिकको हक सुनिश्चित तर उद्यमशीलता र उत्पादनमुखी श्रमसंस्कृति विकास गर्नु अपरिहार्य छ ।

न्याय, सुरक्षा, शिक्षा र स्वास्थ्य पूर्णतः निःशुल्क : यो केवल सुविधा होइन, नागरिक अधिकार हो । जीवनको आधारभूत आवश्यकता बजारको चीज होइन, यो राज्यको ग्यारेन्टी हो, हुनुपर्छ ।

सनातनी सभ्यताको जीवनशैली र वंशजप्रतिको प्राथमिकता : हाम्रो जीवनशैली, हाम्रो खानपान, हाम्रो व्यवहार सनातन ज्ञानसँग मेल खाने बनाइनुपर्छ । भविष्यका पुस्तालाई शिक्षा, रोजगारी र नेतृत्वमा अग्राधिकार दिइनुपर्छ ।

भ्रष्टाचार शून्य राज्य संयन्त्र र समाज : अब ‘कम्प्रोमाइज’ होइन, ‘क्लिन अप’को युग सुरु हुन्छ । भ्रष्टाचार गर्नेलाई कानुनी मात्र होइन, सामाजिक बहिष्कार गर्नुपर्छ ।

समानुपातिक प्रणालीको वैकल्पिक व्यवस्था : हामी नयाँ वैकल्पिक मोडेल ल्याउँछौँ, जहाँ प्रतिनिधित्व, उत्तरदायित्व र जनताको चाहना सन्तुलित रूपमा समेटिएको होस् ।

स्वदेशी उत्पादन र रोजगारीप्रति उच्च प्राथमिकता : कृषि, कुटीर उद्योग र प्रविधिमैत्री स्वरोजगारको क्रान्ति ल्याइनुपर्छ । कृषकलाई उच्च सम्मान र सुविधा दिने राष्ट्र बनेपछि भू-स्वाभिमानको पुनर्जागरण हुन्छ ।

जनमुखी कर नीति : अबको कर नीति गरीबलाई राहत दिने र धनाढ्यलाई उत्तरदायित्वमा ल्याउने हुनुपर्छ । जनताबाट उठेको कर जनताकै सेवामा प्रयोग गरिने सुनिश्चितता राज्यले दिनुपर्छ ।

यो केवल घोषणा होइन, आह्वान पनि हो ।
हामी कुनै दानमा लोकतन्त्र माग्दैनौँ, हामी नेतृत्व गर्न तयार छौँ ।
हामी कुनै दया चाहँदैनौँ, हामी न्याय र सम्मानको नयाँ युग शुरू गर्न उठेका हौँ ।
अब मौन बस्ने होइन, आवाज उठाउने बेला हो ।
अब सहने होइन, परिवर्तन ल्याउने बेला हो ।
अब पुराना कुशासनहरूमाथि पर्दा खसाल्ने बेला हो ।

👉🏽 यदि तपाईं पनि यथास्थितिका विरुद्ध हुनुहुन्छ भने- हामी तपाईंलाई बोलाउँदैछौँ ।
👉🏽 यदि तपाईं साँचो राष्ट्रवाद र मौलिकताको पक्षमा हुनुहुन्छ भने- हामी तपाईंलाई खोज्दैछौँ ।
👉🏽 यदि तपाईं भावी सन्ततिका लागि गर्विलो नेपाल बनाउने सपना देख्नुहुन्छ भने- हामी तपाईंसँग सहयात्रा गर्न तयार छौँ ।

अब मौनताबाट विद्रोहको, विभाजनबाट समन्वयको र अन्धकारबाट उज्यालोको यात्रा शुरू गरौँ ।