नेपाली भाषाका स्रष्टाहरु पुरस्कृत
आदिकवि भानुभक्त आचार्यको स्मरण गर्दै २१२औँ भानुजयन्ति भारतको राजधानी नयाँदिल्लीस्थित राजेन्द्र भवनमा भारतका नेपाली भाषाप्रेमीहरुले सरल र सौम्य तरिकाले मनाएका छन् ।
समारोहको प्रारम्भ हरिकलाद्वारा रामायणका केही श्लोक पाठ गरेर गरिएको थियो भने कार्यक्रममा दिल्लीस्थित एनसीआरका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा १५ देखि २५ वर्षसम्मका बालबालिकाहरुले कविता प्रस्तुत गरी पुरस्कृत भएका थिए भने कार्यक्रमको अर्को चरणमा ुहाम्रो स्वाभिमान ट्रष्टुका तर्फबाट लेखक तथा वरिष्ठ मिडियाकर्मी विष्णुबहादुर गुरुङले यस वर्षको राष्ट्रिय पुरस्कारको घोषणा गरेका थिए ।
नेपाली साहित्य पुरस्कार पत्रकारितातर्फ प्रदीप रसाइली (सिलगुडी), नेपाली साहित्य पुरस्कार गद्यतर्फ निरङ्कर थापा (दार्जिलिङ), नेपाली साहित्य पुरस्कार पद्यतर्फ रेवतीमोहन तिम्सिना (आसाम) र राष्ट्रिय सम्मान २०२५ सिक्किमका वरिष्ठ लेखक, साहित्यकार एवम् पत्रकार पुण्या प्रसाद शर्माले प्राप्त गरेका थिए ।
सोही अवसरमा नेपाली भाषाका वरिष्ठ लेखक, साहित्यकार एवम् गीतकार स्व. सानु लामा (सिक्किम)को असामयिक निधनप्रति समवेदना तथा श्रद्धाञ्जली पनि प्रकट गरिएको थियो ।
समारोहमा नेपाली दूतावासका सांस्कृतिक सहचरी गोपाल बस्नेत, वरिष्ठ साहित्यकार एवम् भाषा सङ्ग्रामी उत्तरकुमार क्षेत्री प्रमुख अतिथिका रुपमा सहभागी थिए ।
प्रतिक्रिया