त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण हुने

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण हुने


नेपाल आयल निगमले रु ६ अर्ब ५० करोड लागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सिनामङ्गलस्थित डिपो अन्तर्राष्ट्रिय मापदण्ड बाहिर रहेको, विमानस्थलमा सुरक्षा जोखिम बढेको र भण्डारण क्षमता विस्तार गर्न नमिल्ने भएपछि निगमले विमानस्थलको उत्तरपूर्वी गुह्वेश्वरी क्षेत्रमा नयाँ इन्धन डिपो निर्माण गर्ने तयारी अघि बढाएको हो ।

त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान, पूल्चोक क्याम्पसको कन्सल्टेन्सी सेवाले सो डिपो स्थानान्तरणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आज (८ साउन) निगमलाई हस्तान्तरण गरेको छ ।

सिनामङ्गलस्थित निगमको कार्यालयमा आयोजित कार्यक्रममा इञ्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन प्राडा सुरज लामिछाने र सहप्राध्यापक नारायण गौतमले सिनामङ्गलस्थित डिपोका प्रमख प्रदीकुमार यादव र लेखा प्रमुख प्रचण्ड पाठकलाई हस्तान्तरण गरे ।

उक्त प्रतिवेदनमा कुल रु ६ अर्ब ५४ करोड २९ लाखको लागतमा डिपो स्थान्तरण गरिने उल्लेख छ । अब बन्ने डिपोमा पेट्रोलियमसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पूरा पालना गरिने छ । नयाँ डिपो अमेरिकी पेट्रोलियम इन्स्टिच्युटले तोकेको सुरक्षा मापदण्डको हुने निगमले जनाएको छ ।

डिपो स्थानान्तरणसम्बन्धी प्रतिवेदन तयार गर्न निमगले गत मङ्सिर ५ गते त्रिवि इञ्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा दिएको थियो । सरकारले गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकबाट सिनामङ्गलस्थित हवाई इन्धन डिपो गुह्वेश्वरीमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।

नयाँ बन्ने डिपोमा इन्धन भण्डारणका लागि तीन हजार किलोलिटरका पाँच वटा भर्टिकल टयाङ्क निर्माण हुनेछन् । भविश्यमा भण्डारण टयाङ्क निर्माणका लागि थप जग्गा पनि रहनेछ । प्रमुख यादवले आगामी ५० वर्षका लागि हवाई इन्धनको माग धान्न सक्नेगरी नयाँ डिपो निर्माण गरिने जानकारी दिए ।

डिपो अत्याधुनिक तथा पूर्णरूपमा स्वचालित हुनेछ । हवाई इन्धन ‘लोडिङ’ र ‘अनलोडिङ’का लागि क्रमशः ६ र आठ वटा वे, अन्तर्राष्ट्रिय उडानका जहाजमा इन्धन भर्न सात वटा ‘हाइड्रेन्ट रिफ्युलर’ रहने निमगले जनाएको छ । डिपोमा अग्नि सुरक्षाका लागि दुई हजार १०० किलोलिटरका दुई वटा पानी टयाङ्क तथा पूर्णस्वचालित अग्नि नियन्त्रक प्रणाली जडान हुने प्रमुख यादवले जानकारी दिए ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले जग्गा व्यवस्थापनको काम सम्पन्न गरिदिएमा आगामी भदौमा अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरी आगामी मङ्सिरदेखि निर्माण प्रारम्भ गर्ने योजना रहेको उनले बताए ।

जग्गा व्यवस्थापनको काम अत्यन्त ढिलो गतिमा भइरहेको जानकारी दिँदै उहाँले प्राधिकरणबाट सहयोगको अपेक्षा गरिएको बताए । निर्माण सुरु भएको दुई वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विसं २०८४ मङ्सिरदेखि नयाँ डिपोबाट इन्धन भर्ने योजना रहेको प्रमुख यादवले भनाइ छ ।

इञ्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन लामिछानेले आफूहरू जस्तोसुकै परियोजनाको पनि डिजाइन गर्न सक्षम रहेको उल्लेख गर्दै निगमसँगको सहकार्यबाट संस्थानको पनि क्षमता वृद्धि हुनुका साथै निर्धारित समयमा डिपिआर हस्तान्तर गरिएको स्पष्ट पारे ।

photo: rss