परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानताहरू रहेको बताएकी छन् । आज (९ साउन) राजधानीमा आयोजित ‘थाइ फ्लेभस् ‘इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबीचमा सांस्कृतिकलगायत धेरै क्षेत्रमा समानता रहेको उल्लेख गरिन् ।
मन्त्री राणाले दुई देशका बीचमा पाहुनाहरूको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्यमान्यताहरूको सम्मान, सहिष्णुता तथा पर्यटन र यसमार्फत प्राप्त गर्न सकिने समिृद्धिलगायत समानताहरू रहेका चर्चा गरिन् ।
पर्यटन दुई देशका बीचको साझा समृद्धि एवं सहकार्यको क्षेत्र हुनसक्ने स्पष्ट गर्दै मन्त्री डा. राणाले नेपालमा पनि पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन एवं हस्पिटालिटीका क्षेत्रमा लगानी गर्न थाई लगानीकर्ताहरूलाई आग्रह गरिन् ।
नेपाल उद्यमशिलताका क्षेत्रमा अघि बढिरहेको र हस्तकलालगायत कैयौँ वस्तुको उत्पादन विश्वबजारको आकर्षण पनि बनेको भन्दै उनले नेपालमा लगानी गर्न थाई उद्योगी व्यवसायीहरूलाई आग्रह गरेकी हुन् ।
नेपाल र थाइल्याण्ड कहिल्यै पनि कुनै उपनिवेशमा नरहेका स्वतन्त्र र स्वाधीन राष्ट्र रहेका प्रसङ्ग उल्लेख गर्दै मन्त्री डा. राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै थाइल्याण्डको भ्रमण गरेको र त्यसक्रममा सरकारी तथा निजी क्षेत्रमा सहमति र समझदारी भएको स्मरण गरिन् ।
प्रतिक्रिया