नेपाली कांग्रेसको गुट राजनीतिले बागमती प्रदेशमा रंग देखाएको छ । प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री रहेका बहादुरसिंह लामालाई हटाएर संस्थापन समूहका अर्का पात्रलाई मुख्यमन्त्री बनाउन कांग्रेसका चार प्रदेशमन्त्रीले पदबाट राजीनामा दिएका छन् ।
शुक्रबार (९ साउन) बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले राजीनामा दिएका छन्। राजीनामा दिने चारै जनाले हालै पार्टीसभापति शेरबहादुर देउवासँग विशेष भेटघाट गरेका थिए । यसरी सभापतिसँग भेट गरेको केही दिनमै मन्त्री पदबाट उनीहरुले राजीनामा दिनुलाई गुटगत राजनीति मौलाएको संकेतकै रुपमा बुझ्न सकिन्छ ।
बागमती प्रदेशमा नेपाली कांग्रेसबाट आठ जना मन्त्री रहेका छन्, तीमध्ये चार जनाले राजीनामा दिएका हुन् ।
कांग्रेस स्रोतका अनुसार संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियाका लागि कांग्रेस सांसदहरूले प्रक्रियासमेत अघि बढाएका छन् । यसका लागि ३७ सांसद रहेको कांग्रेस संसदीय दलमा संसदीय दलको नेता फेर्ने पक्षमा २४ जना रहेको दाबी गरिएको छ ।
प्रतिक्रिया