मणिपुरमा जारी राष्ट्रपति शासन थप ६ महिनाका लागि बिस्तार

मणिपुरमा जारी राष्ट्रपति शासन थप ६ महिनाका लागि बिस्तार


भारतको मणिपुरमा पहिलेदेखि नै लागू गरिएको राष्ट्रपति शासनलाई १३ फेब्रुअरी २०२६ सम्म लम्ब्याउने वैधानिक प्रस्ताव पेश भएको छ।

भारतको केन्द्र सरकारको प्रस्तावमा भारतीय संसद्ले मणिपुर राज्यमा राष्ट्रपति शासन ६ महिनाका लागि बढाउने निर्णयलाई अनुमोदन गरेको हो । यो आदेश सन् २०२५ अगस्त १३ देखि लागू हुने बताइएको छ ।

यस सम्बन्धमा राज्यसभाले एक सूचना जारी गरी भनेको छ, ‘यो सदन संविधानको धारा ३५६ अन्तर्गत मणिपुरको सम्बन्धमा राष्ट्रपतिले जारी गरेको घोषणालाई सन् २०२५ अगस्ट १३ देखि ६ महिनाका लागि निरन्तरता दिने प्रस्तावलाई अनुमोदन गर्दछ।’

एन विरेन सिंहले मुख्यमन्त्रीपदबाट राजीनामा दिएपछि मणिपुरमा फेब्रुअरी १३ मा राष्ट्रपति शासन लगाइएको थियो ।

राज्यमा सन् २०२३ को मे महिनादेखि नै जातीय द्वन्द्व चर्किरहेको छ । अहिलेसम्म त्यहाँ स्थायी शान्ति स्थापना हुन सकेको छैन ।