बाँस प्रवर्द्धनमा जुटेका नगरप्रमुख सत्याग्रहमा

बाँस प्रवर्द्धनमा जुटेका नगरप्रमुख सत्याग्रहमा


खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले आइतबार (११ साउन)देखि सत्याग्रह सुरु गरेका छन् । बाँसजन्य सामग्रीको प्रवर्द्धनसहित सातबुँदे माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा उनले सत्याग्रह सुरु गरेका हुन् ।

मेयर भट्टराईका मागहरुमा स्थानीयस्तरमा उत्पादन हुने बाँसका सामग्री तथा स्थानीय कोदोको रक्सी प्रवर्द्धन, बाँदर नियन्त्रण, भ्रष्टाचार नियन्त्रणलगायतका सात बुँदा छन् । बाँसका सामग्री तथा स्थानीयस्तरमा उत्पादन हुने थोकवस्तुको प्रवर्द्धन गर्न सरकार समक्ष नगरपालिकाले राखेको माग सम्बोधन नभएपछि बाध्य भएर सत्याग्रह सुरु गरेको उनले बताएका छन् ।

‘बाँस तथा बाँसजन्य कच्चा पदार्थ उपयोगमा ल्याउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थियौँ । हामीले राखेको माग कार्यान्वयन गर्न सरकार उदासीन देखियो, खेर गइरहेका बाँसलाई उपयोगमा ल्याउन सरकारले नीति बनाउनुपर्नेमा सरकार उदासीन देखिएपछि सत्याग्रह सुरु गरेको हुँ । यो कार्यक्रम तीन दिनसम्म जारी रहन्छ’, मेयर भट्टराईले भनेका छन् । शान्तिपूर्ण सत्याग्रहले माग पूरा नभएमा यही साउनको १४ गतेदेखि आमरण अनसन बस्ने उनको भनाइ छ ।

बाँसबाट निर्मित सामग्रीसहित सिंहदरबार परिक्रमा गर्न खोज्दा नगर प्रमुख भट्टराईलाई प्रहरीले रोकेको थियो । पशुपतिमा कपाल मुण्डन गरेपछि खाली खुट्टा हिँडेर उनी सिंहदरबारको दक्षिण ढोका पुगेका थिए । त्यसपछि माइतीघर मण्डला पुगेका नगरप्रमुख भट्टराईले बाँसका सामग्री प्रदर्शनसँगै सत्याग्रह सुरु गरेका हुन् ।

ज्ञातव्य छ, ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गत फागुनमा तीनदिने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन-२०८१’ आयोजना गरेको थियो । दिक्तेल बजारमा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणा-पत्र’ गरेको थियो ।

सो घोषणा-पत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतको रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवर्द्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने उल्लेख छ ।

photo: rss