विषालु कोब्रा चपाएर जुन बालक सकुशल रहे…

विषालु कोब्रा चपाएर जुन बालक सकुशल रहे…


सर्पले टोकेर मानिसको मृत्यु भएको या उपचार गरेर जीवन बचेका घटना त हामी अक्सर सुनिरहेका हुन्छौँ, तर मानिसले सर्पलाई टोकेर मारेको सन्दर्भचाहिँ बिरलै सुन्न पाइन्छ । यस्तै एक अनौठो घटना भारतको बिहार राज्यको बेतिया भन्ने स्थानमा घटेको छ ।

अत्यन्त विषालु र खतर्नाक मानिने कोब्रा जातको सर्पलाई एक वर्षको बच्चाले पक्रिएर सर्पको टाउको चपाउँदा उक्त सर्प मरेको तर बच्चा भने सामान्य उपचारपछि स्वस्थ रहेको घटना यतिबेला चर्चामा रहेको छ ।

बीबीसीले जनाएअनुसार बेतियाको मोहछी वनकटवा गाउँमा आइसक्रिम बेचेर जीविका चलाउँदै आएका सुनिल साह नामका व्यक्तिको एक वर्षीय पुत्र गोविन्द कुमार यस घटनाका नायक हुन् । बालक गोविन्दकी आमा घरमा रहेको दाउराको चाङ मिलाउँदै गर्दा एक वर्षका गोविन्द भुइँमा खेलिरहेका थिए । त्यसैबेला दाउराको चाङबाट कोब्रा सर्प निस्कियो र बालकको नजिक पुग्यो । तर आश्चर्य ! ती बालकले उक्त सर्पलाई समातेर मुखले टाउकोमै टोक्न पुगे, जसका कारण सर्पको मृत्यु भयो ।

बच्चाले सर्प समातेर टोकिरहेको उनकी आमाले पछिमात्र देखिन् । जब आत्तिँदै उनी बच्चा समाउन पुगिन्, त्यतिबेलासम्ममा बच्चा बेहोस भइसकेका थिए । बालकको मुख केही सुन्निएको थियो ।

ढिलो नगरी ती बालकलाई स्थानीय अस्पताल पुर्‍याइयो । गत बिहीबार (२५ जुलाई) सो घटना भएको थियो, तीन दिनको उपचारपछि शनिबार साँझ अस्पतालबाट डिस्चार्ज गरिएका बालक गोविन्द अहिले पूरै स्वस्थ रहेका र स्थानीय वासिन्दाका बीच आकर्षणको केन्द्र बन्न पुगेका छन् ।