✍ राजेन्द्रप्रसाद पाठक
तिमी ‘क’ सुन्दै सुन्दैनौ न त पढ्छौ !
तिमी पछाडिको ‘विता’ मात्रै सुन्छौ/पढ्छौ ।।
त्यसैले तिमी हमेसा अधुरो नै रहन्छौ ।
तिमी भाव हेर्दैनौ अभाव मात्र हेर्छौ ।।
तिमी धुरी मापन गर्छौ ।
धुरीमुनि रहनेको अग्लाई मापन गर्दैनौ ।।
रुप हेर्नेले सीप हेर्दैन र देख्दैन पनि ।
नजरले कहिल्यै मापन गर्नै सक्दैन ।।
गिदीको नशाले ब्रम्हाण्ड बेर्न सक्छ ।
लिदिमा घिरौँला फलाएर छाक टार्नेको गिदी पनि त हुँदैन ।।
तिमी आम्दानीमा अल्झिएको दुईखुट्टे पशु मात्र हौ ।
तिमीभित्र चारपाइ जनावर जतिपनि गुण हुँदैन ।।
मनुवा वंशमा जन्मिएका पशुले ।
पशुलाई झन् धेरै दुत्कार्छ छिःछिः गर्छ ।।
झन् पशुपतिलाई के मान्दो हो त्यसले ?
नाथको अगाडि ‘अ’ लगाएर सारा अनाथ ठान्छ ।।
तिमी जुत्ताको मूल्यमा रुमलिन्छौ ।
खुट्टाको मूल्य जान्न चाहँदैनौ ।।
तिमी कोटको मूल्य सोध्छौ !
मनुष्य चोलाको मोल जान्दैनौ ।।
तिमी टोपीको मूल्य तोक्छौ ।
सगरमाथा जस्तो शिर तिमिलाई मूल्यहीन लाग्छ ।।
आवरणमा अल्मलिने हुतिमात्र छ तिमीसँग ।
अन्तःस्करण हेर्ने हैसियत नै नभएपछि यस्तै हो !!
प्रतिक्रिया