थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराम वार्ता सुरु

थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराम वार्ता सुरु


थाइल्यान्ड र कम्बोडियाको जङ्गलले घेरिएको सीमानामा पाँच दिनको लडाइँपछि युद्धविराम खोज्दै दुवै मुलुकका नेताहरूले सोमबार (२८ जुलाई) मलेसियामा शान्ति वार्ता सुरु गरेका छन् । थाई कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाइ र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले प्रशासनिक राजधानी पुत्रजयामा दिउँसो ३ः१५ बजे (०७१५ जिएमटी) वार्ता सुरु गरेका हुन् ।

पाँच दिनको लडाइँमा दुवै पक्षका कम्तीमा ३५ जना मारिएका छन् भने लामो समयदेखि विवादित क्षेत्रमा भएको युद्धमा दुई पक्षले तोप, रकेट र बन्दुक प्रहार गर्दा दुई लाखभन्दा बढी मानिस भागेका छन् । विवादित क्षेत्रमा प्राचीन मन्दिरहरूको समूह छ ।

सन् १९०७ मा कम्बोडियाको फ्रान्सेली औपनिवेशिक प्रशासकहरूले गरेको अस्पष्ट सीमाङ्कनका कारण दुवै पक्षले दाबी गरेको इलाकामा सन् २००८ देखि सन् २०११ मा भएको हिंसापछिको यो सबैभन्दा घातक घटना हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्तक्षेप गरेपछि दुवै पक्ष छिट्टै समस्या समाधान गर्न सहमत भएका हुन् । ट्रम्पसामु दुबै राष्ट्रले भारी भन्सार शुल्कको खतराबाट बच्न व्यापारिक सम्झौताका लागि अनुरोध गरिरहेका छन् ।

थाइल्यान्ड र कम्बोडिया दुवै सदस्य रहेको आसियान ब्लकका अध्यक्ष रहेका मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको निवासमा उनीहरूबीच भेट भएको थियो । इब्राहिमले यसअघि मिडियालाई आफूले ‘तत्काल युद्धविराम’मा ध्यान केन्द्रित गर्ने बताएका थिए ।

वासिङ्टनका शीर्ष कूटनीतिज्ञ मार्को रुबियोले विदेश मन्त्रालयका अधिकारीहरू ‘शान्ति प्रयास’मा सहयोग गर्न मलेसियामा रहेको बताए भने कम्बोडियाले आफ्नो निकट सहयोगी चीनको प्रतिनिधिमण्डल पनि सहभागी हुने बताइएको छ ।

तर, शिखर सम्मेलनअघि थाइल्यान्ड र कम्बोडियाले नयाँ गोलीबारी र तीखो आरोप-प्रत्यारोप गरेका छन् ।