हत्या अभियोगमा जेल सजाय भोगेका ब्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

हत्या अभियोगमा जेल सजाय भोगेका ब्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या


धनुषास्थित जनकपुरधाम उपमहानगरपालिका-४ मा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या गरिएको छ भने र दुई महिला घाइते भएका छन् ।

कटैयाचौरी भन्ने स्थाननजिक भएको सो घटनामा बटेश्वर गाउँपालिका-५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी १५ वर्षीया भतिजी राधा यादव घाइते छन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्ने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति ती तीनै जनामाथि खुकुरी प्रहार गरेका थिए । आशाको टाउको र शरीरको विभिन्न भागमा घाउ लागेको छ भने राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ ।

बताइएअनुसार अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् ।

साह आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय काटेका व्यक्ति हुन् । मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले घटनाको अनुसन्धान भइरहेको र हत्या अभियुक्तको खोजी भइरहेको जानकारी दिएका छन् ।